काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकरण नभएका र दर्ता खारेज भएका कम्पनीहरु भौतिक रुपमा नै उपस्थित भएर कारोबार गराउने ओभर दि काउन्टर (ओटीसी) बजार भनिन्छ । यो बजारमा नेपाल स्टक एक्स्चेञ्ज काउन्टरमा भौतिक रुपमै उपस्थित भएर शेयरको कारोबार गरिन्छ । हाल ओसीटी बजारमा १२३ कम्पनी दर्ता भएका छन ।
यसमा कारोबार गर्नका लागि आवेदन फारम (ओ.टि.सि) बजार सञ्चालन विनियमावली २०६५ को अनुसूची १ र २ बमोजिमको कारोबारका नियम बनाएको छ । उक्त बजारमा कारोबार गर्नका लागि कम्पनी सञ्चालनमा रहेको अन्तिम वर्षको वित्तीय विवरण उपलब्ध गराउन पर्ने छ ।
त्यस्तै, कम्पनीको सञ्चालकहरुको नाम, ठेगाना र उनीहरुले ग्रहण गरेको धितोपत्रको संख्या समेत उल्लेख गर्न पर्ने नेप्सेले जनाएको छ । कम्पनीको दर्ता प्रमाण पत्र समेत भौतिक रुपमा कारोबारका क्रममा देखाउन पर्ने व्यवस्था रहेको छ ।
कम्पनीको उद्धेश्य तथा काम कारवाही देखिने कागजात र कार्यालय तथा अन्य निकायहरुमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि पनि साथमा राख्न पर्ने हुन्छ । धितोपत्र प्रमाणपत्रको नमूना पनि नेप्सेलाई उपलब्ध गराउन पर्ने हुन्छ ।
व्यवसाय बन्द वा खारेज गरेको भएमा व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय वा सञ्चालनमा रहेको व्यवसायको धितोपत्र बजार मार्फत कारोबार गराउने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय पनि उपलब्ध गराउन पर्ने हुन्छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली, धितोपत्र धनीहरुको विवरण,ओ.टि.सि बजारमा कम्पनी दर्ता प्रकृयाको लागि सञ्चालक समितिको निर्णय पनि उपलब्ध गराएपछि बल्ल शेयर किन बेचका लागि नेप्सेले सहजिकरण गर्ने गरेको छ ।
साथै, कम्पनीका सञ्चालकको नागरिकता प्रमाणपत्र, कम्पनीको कर चुक्त लगायतका प्रमाणपत्र समेत राख्न पर्ने हुन्छ । यसमा शेयर किनबेच गर्दा नेप्सेको कमिसन, धितोपत्र बोर्डको कसिमसन र कारोबारमा लाग्ने रकम समेत बैंक खातामा जम्मा गरेको भौचर समेत राख्न पर्ने हुन्छ ।