एजेन्सी । हिजबुल्लाहका सैन्य प्रमुख फौद शुकुर र हमास नेता इस्माइल हानियाको हत्यापछि मध्यपूर्वमा ठूलो तनावको वातावरण बनेको छ । तेहरानमा इस्माइल हनियाको हत्यापछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले इजरायलमा आक्रमण गर्ने धम्की दिएको छ । लेबनानबाट हिजबुल्लाहले बिहीबार राति उत्तरी इजरायलमा धेरै रकेट प्रहार गरेको छ। यसैबीच, पेन्टागनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भन्यो,‘संयुक्त राज्यले मध्य पूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउनेछ र यस क्षेत्रमा बढ्दो तनावको बीचमा अमेरिकी कर्मचारी र इजरायलको सुरक्षा गर्न थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्नेछ।’
इरान र उसका क्षेत्रीय सहयोगीहरूले बदला लिने वाचा गरेपछि अमेरिकाले यो कदम चालेको जनाएको छ । जसका कारण मध्यपूर्वमा द्वन्द्वको सम्भावना बढेको छ । रक्षा विभागले क्षेत्रीय तनाव बढाउन इरान वा इरानका सहयोगी र प्रोक्सीहरूको सम्भाव्यतालाई कम गर्न कदम चालिरहेको छ । पेन्टागनका उप प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तिमा भने, ‘अक्टोबर ७ मा इजरायलमा हमासको विनाशकारी आक्रमण पछि रक्षा सचिवले इजरायलको रक्षाको लागि हाम्रो दृढ प्रतिबद्धता सहित यस क्षेत्रमा हाम्रा कर्मचारी र हितहरूको रक्षा गर्ने कुरा दोहोर्याउनु भएको छ।’
इजरायली आक्रमणमा हमासका दुई नेता र एक हिजबुल्लाह कमाण्डर एकपछि अर्को गरी मारिएका छन् । गत महिना इरानमा हमास नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासको सैन्य शाखाका प्रमुख मोहम्मद जेफ गाजामा मारिए। लेबनानमा सक्रिय हिजबुल्लाहका कमाण्डर फुआद शुकुर बेरुतमा भएको हवाई आक्रमणमा मारिएका थिए।