काठमाडौं । धितोपत्र दोस्रो बजारमा गत आर्थिक वर्ष २०८०/८१ मा २० करोड ७५ लाख १८ हजार १८० कित्ता बोनस शेयर थपिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कालाई आधार मान्दा ६३ कम्पनीहरूले उक्त संख्यामा बोनस शेयर सूचीकृत गराएका हुन ।
गत वर्ष धेरै जसो कम्पनीहरूले बोनसभन्दा नगद लाभांशलाई जोड दिएकाले अघिल्लो वर्षको तुलनामा बोनस शेयर सूचीकरणको संख्या ५० दशमलव २५ प्रतिशत कम भएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष ०७९÷८० मा भने दोस्रो बजारमा १२६ कम्पनीको ४१ करोड ७१ लाख १२ हजार ४९६ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा उल्लेख छ ।
लघुवित्त क्षेत्रमा १५ प्रतिशतभन्दा बढी लाभांशमा कडाई गरिनु र वाणिज्य बैंकहरूमा लाभांश क्षमता कम भएसँगै आधा दर्जनभन्दा बढी बैंकहरूले लाभांश नदिएकाले बोनस शेयरको संख्या घटेको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत सबैभन्दा धेरै कम्पनीहरू रहेको क्षेत्र जलविद्युत तर्फ भने अधिकांश कम्पनी लाभांश वितरण नगर्नेमा रहेका छन् ।