शीर्षकहरू

चालू आवको मौद्रिक नीतिबारे यस्तो छ लगानीकर्ताहरूको प्रतिक्रिया

चालू आवको मौद्रिक नीतिबारे यस्तो छ लगानीकर्ताहरूको प्रतिक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काल लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।    

मौद्रिक नीतिले शेयर लगानीकर्ताहरूले विरोध गर्दै आएको शेयर धितो कर्जाको सीमा खारेज गरेको छ । ‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिने’, मौद्रिक नीतिमा उल्लेख छ ।  

मौद्रिक नीतिले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा हटाइदिँदा बजारमा लगानी बढ्ने शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘चालू आवको मौद्रिक नीति समग्रमा सकारात्मक आएको छ । यसमा धेरै कुरा समेटिएको छ । हामीले लामो समयदेखि खारेज गर्न माग गर्दै आएको कर्जाको विषय पनि यस पटकको मौद्रिक नीतिले सम्बोधन गरिदिएको छ । अब शेयरमा लगानी बढ्छ ।’ 

उनका अनुसार बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । राष्ट्र बैंकका विभिन्न नीतिका कारण नै बैंकहरुले लगानी गर्न नसकिरहेको अवस्थामा खुकुलो मौद्रिक नीतिले लगानी बढ्ने उनको भनाई छ । 

बैंकहरुले असल कर्जामा १.२ प्रोभिजन गर्नु पर्दथ्यो अहिले १ं.१ गरे पुग्छ यसले गर्दा के हुन्छ भने बैंकसँग लगानी गर्ने पैसा बढी हुन्छ । यसले गर्दा बैंकको आम्दानी बढ्छ र लगानीकर्ताले बोनस राम्रो पाउँछ’, रौनियारले भने । 

लामो समयदेखि सुस्ताएको नेपाली शेयर बजार चालू आवको मौद्रिक नीति सार्वजनिक पछि भने सुधार हुँदै जाने उनले बताए । रौनियारले भने, ‘अब शेयर बजार राम्रो भएर जान्छ । ओभरल हेर्दा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ताका लागि यो मौद्रिक नीति सकारात्मक छ ।’ 

त्यस्तै, मौद्रिक नीतिले लगानीकर्ताहरूको माग सम्बोधन गरेको शेयर लगानीकर्ता मुक्ति अर्याल बताउँछन् । उनी भन्छन्, ‘मौद्रिक नीति सकारात्मक छ । लगानीकर्ताहरूको माग सम्बोधन भएको छ । लगानीकर्ताहरूमा खुशी ल्याएको छ । तर, अब बजारले कुन रूप लिने हो भनेर हेर्नको लागि आइतबारसम्म कुर्नु पर्ने हुन्छ ।’     

अर्का लगानीकर्ता केशव कोइरालाले शेयर धितो कर्जाको सीमा हटाउँदा लगानीकर्ता र राज्य दुबैलाई फाइदा पुग्ने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै लेखेका छन्, ‘संस्थागत लगानी कर्ताले लिने ऋणको सीमा हटाएर राष्ट्र बैंकले मेरो मन जितेको छ । अब ऋण धेरै लिनेहरूले कम्पनी खोल्ने हो । लगानी कर्ता र राज्य दुबैलाई फाइदा । यो सुरुआत हो । अब हरेक त्रैमासिक समीक्षामा धमाका हुँदै जानेछ ।’