शीर्षकहरू

अस्ताए ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’का गायक जोशी

अस्ताए  ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’का गायक जोशी

झापा । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।

विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका छन । पूर्वेली लोकभाका उनी गीत गाउथे। ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।

उनी चित्रकार र अभिनेता पनि थिए । चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए। उनले नौवटा चलचित्रमा अभिनय गरेका थिए।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए । “उनी घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो”, खरेलले शोक वक्तव्य जारी गरेर भनेका छन । 

विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया....’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।