शीर्षकहरू

आर्थिक मन्दीको मारमा साना व्यवसायी

आर्थिक मन्दीको मारमा साना व्यवसायी

काठमाडौं । साना व्यवसायीहरू आर्थिक मन्दीको मारमा परेका छन् । मन्दीका कारण व्यवसाय सुस्ताएको छ । 

सधैजसो भिडभाड हुने काठमाडौंको असन, इन्द्रचोकका पसलहरूमा ग्राहकहरूको खासै चहलपहल देखिँदैन । यहाँका अधिकांश पसलेहरू फुर्सदिला भेटिन्छन् । 

साउन महिनाका लागि भनेर पसलेहरूले विशेषगरि हरियो, पहेँलो, कुर्था, साडी, चुरा, पोते, मेहेन्दी लगायत विभिन्न सामानहरूले पसल भरिभराउ पारेका छन् । तर, खरिद गर्ने ग्राहक भने छैनन् । 

आर्थिक मन्दीले ग्राहकहरूको चहलपहल घटेको व्यापारीहरू बताउँछन् । जसले गर्दा आफ्नो व्यापारमा धक्का पुगेको उनीहरूको तर्क छ । व्यापार नहुँदा अबको विकल्प के सोच्ने भन्नेमा व्यापारीहरू चिन्तित देखिन्छन् । 

करिब तीन दशकदेखि इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका आब्बास आलम व्यापार सुस्ताएको सुनाउँछन् । उनी भन्छन्, ‘ग्राहक नै छैनन् । पोतेको व्यापार हुन छाड्यो । पसल कुर्ने मात्र काम भएको छ ।’ 

इन्द्रचोकमै साडी व्यवसायी सञ्जु रौनियारको पनि व्यथा उस्तै छ । उनी पनि व्यापार नभएर चिन्तित छिन् । सञ्जु भन्छिन्, ‘व्यापार नै छैन । कहिलेकाहीँ बोहोनी उठाउन पनि मुस्किल पर्छ ।’ 

अनलाइन मार्फत हुने किनबेचका कारण पनि सटर खोलेर बस्ने व्यवसायीहरू मार्कामा परेको उनको अनुभव छ । साना व्यवसायीहरू अहिले समस्यामा रहेको सुनाउँदै उनले सरकारले साना व्यवसायीलाई टिक्ने वातावरण बनाइदिनु पर्ने माग राखिन् ।  

भारतको बिहारमा जन्मिएर नेपालमा मेहेन्दीको व्यापार गर्दै आएका राहुल कुमार पनि साउनमा समेत मेहेन्दीको व्यापार नभएको गुनासो गर्छन् । मेहेन्दी बेच्नेदेखि लगाई दिनेसम्मको काम गर्दे आएका उनी भन्छन्, ‘साउन महिनामा महिला दिदी बहिनीहरूले मेहेन्दी लगाउने गर्नु हुन्छ । तर, यसपालि यो मेहेन्दीको व्यापार खासै भएको छैन । व्यापारको स्थिति काठमाडौंमा बिग्रिएको छ ।’    

सबै तस्बिरः श्याम गौरो