शीर्षकहरू

दुर्घटनामा परेको सौर्यको बिमान २१ वर्ष ४ महिना पुरानो, छैटौँपटक किनबेचपछि ल्याइएको थियो नेपाल

दुर्घटनामा परेको सौर्यको बिमान २१ वर्ष ४ महिना पुरानो, छैटौँपटक किनबेचपछि ल्याइएको थियो नेपाल
फोटो : रासस

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान २१ वर्ष ४ महिना पुरानो भएको भेटिएको छ । सौर्य एयरलाइन्सको ५० सिट क्षमताको ९एन–एएमई उक्त विमान क्यानेडियन जहाज निर्माता कम्पनी बमबार्डियरले २००३ अप्रिलमा बनाएको थियो ।

उक्त विमान छैटौँपटकको किनबेचपछि सौर्य एयरलाइन्सले २०१७ मार्चमा अमेरिकी कम्पनी एरोलेजबाट खरिद गरेर नेपाल ल्याएको थियो ।

जहाज निर्माण गरेपछि बमबार्डियरले २००३ मेमा अमेरिकाकै एटलान्टिक कोस्ट एयरलाइन्सलाई बेचेको थियो । त्यसपछि एटलान्टिक कोस्टले २००४ अगस्टमा इन्डिपेन्डेन्ट एयरलाई बिक्री गरेको थियो ।

इन्डिपेन्डेन्ट एयरबाट नाइजेरियन कम्पनी एरिक एयरले २००७ जुनमा किनेर  २००८ अप्रिलमा दक्षिण कोरियाको एसए एक्सप्रेसलाई बेचेको थियो । त्यसपछि २०१७ जनवरीमा अमेरिकी कम्पनी एरोलेजले किनेर त्यसको दुई महिनामै सौर्य एयरलाइन्सलाई बेचेको थियो ।

१८ यात्रुको निधन
उक्त एन–एएमई जहाज काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य बुधबार बिहान ११:१३ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटना परेको थियो । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले बताए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । पाइलट मनिष शाक्यलाई उद्धार गरी उपचारका लागि केएमसी लगिएको छ ।

उक्त जहाजमा सबै सौर्य एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा सवार सबै सौर्य एयरलाइन्स कर्मचारी रहेको सौर्य एयरलाइन्सका मार्केटिङ चिफ मुकेश खनालले पुष्टि गरेका हुन् । जहाजमा पाइलट, को–पाइलट लगायत इन्जिनियर, कर्मचारीहरू थिए ।

उक्त जहाज पोखरामा इन्जिन परीक्षण गर्नका लागि उडेको थियो । उक्त जहाजलाई एक महिनासम्म त्यहाँ राखेर परीक्षण गर्ने तयारी थियो । 

जहाज दुर्घटनापछि अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।