शीर्षकहरू

सुस्ताउँदै कपडा व्यवसाय, व्यापारीलाई बोहोनी गर्न धौधौ !

सुस्ताउँदै कपडा व्यवसाय, व्यापारीलाई बोहोनी गर्न धौधौ !

काठमाडौं । काठमाडौंको इन्द्रचोककी सञ्जु रौनियार लामो समयदेखि कपडा व्यवसाय गर्दै आएकी छिन् । रौनियार दम्पति मिलेर इन्द्रचोकमा कपडा व्यवसाय गर्दै आएका छन् । 

कपडा व्यवसाय गरेको उनीहरूमा लामो अनुभव छ । तर, यस वर्ष भने उनीहरूले फरक अनुभव लिइरहेको सञ्जु बताउँछिन् । उनी भन्छिन्, ‘हामीले कपडा व्यवसाय गरेको लामो समय भइसक्यो । अघिल्ला वर्षहरूमा राम्रो व्यापार हुन्थ्यो । तर, यस वर्ष खासै व्यापार छैन ।’

उनका अनुसार कपडा व्यवसाय दिन प्रति दिन घट्दो छ । कहिले काहीँ त बोहोनी पनि नहुँदा चिन्ताले पिरोल्ने उनले सुनाइन् । सञ्जु भन्छिन्, ‘यस वर्ष खासै व्यापार छैन । साउनमा महिलाहरू हरियो, पहेँलो पहिरनमा सजिने सिजन हो । यो समयमा राम्रै व्यापार होला की भन्ने आश थियो । तर, बजारमा लत्ताकपडा बिक्री खासै हुन सकिरहेको छैन । कहिलेकाहीँ त बोहनी समेत हुँदैन ।’    

उनले इन्द्रचोकमा रहेको आफ्नै घरमा कोसेली साडी पसल खोलेकी छिन् । उनको पसलमा विभिन्न प्रकारका साडी आइटमहरू राखिएका थिए । धेरैजसो साउनका लागि भनेर हरियो, पहेँलो साडी राखिएको छ । पसलमा ग्राहकहरू नहुँदा उनले अन्य कर्मचारीहरूसँग गफिँदै समय बिताउनु परेको सुनाइन् । 

सञ्जु अहिले ४२ वर्षकी भइन् । घर व्यवहार सम्हाल्नेदेखि पसल समेत चलाउँदै आएकी छिन् । पसलमा उनका श्रीमान् पनि बस्छन् । तर, धेरैजसो समय भने उनैले दिने गरेकी छिन् । उनले बिक्री गर्ने साडीहरू भारतको नयाँदिल्लीदेखि ल्याउने गरेकी छिन् । उनको पसलमा अन्य दुई जना कर्मचारी पनि राखेकी छिन् ।

‘घरपरिवार पाल्नै पर्यो, सहयोगीलाई पनि तलब दिनै पर्यो । व्यापार गरेर खाना मुस्किल भएको अवस्था छ । साडी पसललाई मात्रै हैन अहिले मार्केट पनि डाउन छ’, उनले भनिन् ।   

देशमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय गर्नेहरूलाई बोहोनी उठाउन पनि धौधौ परिरहेको छ । रौनियार भन्छिन्, ‘व्यापार अहिले साह्रै सुस्त भएको छ । बोहोनी गर्न पनि मुस्किल भई रहेको छ ।’   

साना व्यवसायीको सरकारले सहयोग नगर्ने उनले गुनासो गरिन् । उनी भन्छिन्, ‘साना व्यवसायीलाई सरकारले सहयोग गरेको महुशुस गरेको सम्म छैन । सरकारले साना व्यवसायीलाई सहयोग नै गर्दैन ।’ 

कोरोना महामारीपछि नेपालमा अनलाइन व्यापार निकै नै फस्टाएको छ । नेपालीहरू विस्तारै अनलाइन मार्फत सामान खरिद बिक्री गर्न रुचाइरहेका छन् । त्यसरी अनलाइन व्यापार फस्टाउँदा सटर थापेर पसल गरिरहेकाहरूलाई भने मार्का परेको व्यापारीहरू सुनाउँछन् ।  

‘अनलाइन मार्फत सामान किन्ने मानिसहरूको आकर्षणले हाम्रो व्यापारमा प्रभाव पारेको छ’, सञ्जु सुनाउँछिन् ।