शीर्षकहरू

विभागको निर्देशन नै टेर्दैनन् सहकारी, दोहोरो पद त्याग्नेबारे अनौठो छटपटी !

विभागको निर्देशन नै टेर्दैनन् सहकारी, दोहोरो पद त्याग्नेबारे अनौठो छटपटी !

काठमाडौं । नेपालमा सहकारीको बेथितिबारे कुरा थाल्ने बित्तिकै धेरैको मस्तिष्कले एउटा भनाई स्मरण गर्छ- ‘ठगको राज्यमा कानुनको कुरा !’ यस्तो अवस्था त्यसै आएको होइन । कारण हो, सहकारी सञ्चालकले नियतवश गरेको बदमासी र त्यो सुधार्न गरेको अनिच्छा ।

गत असार ३० गते सहकारी सञ्चालकका लागि सहकारी विभागले ३० दिने अल्टिमेटम दिँदै एउटा निर्देशन जारी गर्‍यो । जसमा कुनै व्यक्ति दुई वा सो भन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए एउटा संस्थामा मात्र सञ्चालक पद कायम राखी अन्यको त्याग गर्न भनिएको थियो । 

सहकारी ऐन, २०७४ को दफा (४१)को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने स्पष्ट व्यवस्था छ । तर, सर्वसाधारण ठग्ने नियतले सहकारी सञ्चालन गर्दै आएका धेरैजसोले त्यसको उलङ्घन गरेको देखिएपछि सो व्यवस्थाको पूर्ण पालना गराउन विभागले निर्देशन दिएको हो ।  

एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक भएका कारण पनि सहकारीहरूमा समस्या देखिएको सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘सहकारी ऐनमै एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था छ । कतिपयले दोहोरो पदमा बसिरहेको भन्ने गुनासो तथा उजुरी विभागमा आउने गरेको छ । अनुगमनका क्रममा पनि यस्तो  देखिएपछि कानुनको पूर्ण पालना गराउन र सहकारीका हालका समस्या समाधानका लागि यस्तो कडाइ गर्न थालिएको हो ।’   

निर्देशन पालना नगर्ने अडानमा सहकारीकर्मी

विभागले निर्देशन जारी गरेको आज २० दिन भइसक्यो । तर, हालसम्म दोहोरो पदमा रहेकाहरूले त्यसलाई त्यागेर एकल पद कायम गरेको कुरा सार्वजनिक भएको छैन । बरु उनीहरू विभागको यो निर्देशन पालना नगर्ने अडानमा बसेका छन् । 

विभागले निर्देशन जारी गरेको केही दिनपछि राष्ट्रिय सहकारी महासंघले विज्ञप्ति नै जारी गरेर विभागको निर्देशन पालना गर्न नसकिने जनायो । महासंघकी अध्यक्ष ओमदेवी मल्लले विज्ञप्तिमार्फत विभागको सो निर्देशन कार्यान्वयन गर्न नसकिने जनाइन् । 

आर्थिकन्युजसंगको कुराकानीमा पनि उनले गलत समयमा विभागले निर्देशन जारी गरेको आरोप लगाइन् । काम गर्नुपर्ने विषयमा काम नगरेर विभागको ध्यान अर्कैतिर रहेको बताइन् । अध्यक्ष मल्लले भनिन्, ‘कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण स्थापना गर्नु आजको मुख्य विषय हो । यसबारे लामो समयदेखि हामीले माग गरे पनि काम भएको छैन । जुन कुराले सहकारी अगाडी बढ्न सकेको छैन । ती कुराहरूलाई काम गर्न छोडेर विभाग अरू नै निर्देशन दिन लागेको छ ।’ 

३० दिनको अल्टिमेटम दिनु उचित नभएको मल्लले बताइन् । उनले भनिन्, ‘व्यवस्थामा भएको कुरा लागू गर्नु भन्नु ठिकै हो । विभागले आफ्नो कर्तव्य पालना गर्‍यो । तर, समय थोरै भयो । असारको समय, क्लोजिङको समय पनि छ । अहिले सहकारीको नकारात्मक सन्देश पनि बाहिर आएको छ । यस्तो अवस्थामा ३० दिनको अल्टिमेटम दिएर यो निर्देशन जारी गर्नु उचित भएन ।’  

विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या पार्ने उनले बताइन् । प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी सञ्चालक हुन पाउने व्यवस्था गर्नुपर्ने उनको माग छ । एउटै व्यक्ति तीन चार ठाउँमा सञ्चालक, अध्यक्ष बन्दा विकृति भएको स्वीकार्दै उनी अगाडी भन्छिन्, ‘तहगतरुपमा बस्न पाउनु पर्छ भन्ने हाम्रो माग हो । यो प्रतिनिधित्व गर्नका लागि पनि आवश्यक छ ।’ 

एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघ/संस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न हुने उनको भनाइ छ । हालको विषम परिस्थितिमा विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बिचैमा नेतृत्व छोड्दा अन्योल सिर्जना भई समस्या आउन सक्ने उनको तर्क छ । 

सहकारी महासंघ कि ‘ठगको सरदार’ ?

सहकारीहरूको मर्यादा कायम राख्ने, त्यसभित्रका विकृति र विचलनलाई सामूहिक प्रयत्नद्वारा नियन्त्रण गर्ने र व्यावसायिक ढंगले सहकारी सञ्चालनलाई प्रवर्द्धन गर्नुपर्नेमा अहिले सहकारी महासंघले ठगी र अनियमितताको पक्षमा कम गरिरहेको छ ।  कानुनमा स्पष्ट रूपमा उल्लेख भएको व्यवस्था नमान्ने र राज्यको जिम्मेवार निकायले दिएको निर्देशन ठाडै अस्वीकार गर्ने काम महासंघले गरेको देखिन्छ ।

त्यति मात्र होइन गलतलाई गलत भन्न नसक्ने र उल्टै ठगको सरदारले आफ्ना ‘ग्याङ’का सदस्यहरूको रक्षा गरेकै शैलीमा खराबीको रक्षार्थ महासंघ ढाल बनेर उभिएको छ ।  हालको विषम परिस्थितिमा यो निर्देशन मान्दै प्रारम्भिक संस्था तथा संघहरूमा बिचमै नेतृत्व छोड्दा अन्यौलता सिर्जना भई समस्या आउन सक्ने भएकाले विचलित नभई पूर्ववत् अवस्थामा काम गर्नु भन्दै महासंघले सार्वजनिक आह्वान नै गरेको छ। महासंघको यो आह्वानपछि सहकारी सञ्चालकहरू दोहोरो पदमै रहेर काम गर्नेमा अडिग देखिन्छन् ।  

त्यति मात्रै होइन विभागको यो निर्देशन कार्यान्वयन नगर्नु भन्दै राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिहरू ज्ञापन पत्र बोकेर विभागमै पुगेका थिए । उनीहरूले दोहोरो पदमा रहन पाउनु पर्छ भन्नेजस्ता तर्कहरू ज्ञापन पत्रमा उल्लेख गरेका छन्। उक्त ज्ञापन पत्र बुझ्दै विभागले ऐनमा भएको कुरा सबैले पालना गर्न भनेको थियो ।    

‘अहिलेको परिस्थितिमा जुन निर्देशन आएको छ त्यो गलत भयो भनेर हामी विभाग गएका पनि थियौँ । यसबारे विभागले पुनर्विचार गर्छ भन्ने लागेको छ’, ओमदेवीले भनिन् । 

अध्यक्ष मल्लले काम गर्नेहरूले जति वटा संस्थामा बसे पनि गर्न सक्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने मान्छेले जति वटामा बसेपनि उसले गर्न सक्छ । यो १० देखि ५ बजेसम्मकाे जागिर त होइन । उसले एउटामा दुई चार/घण्टा र अर्कोमा दुई/चार घण्टा काम गर्न पनि सक्छ । तर, नगर्नेले एउटैमा मात्रै बसेपनि गर्दैन । व्यक्तिमा भर पर्छ ।’

तर, किन एकै व्यक्तिले अनेक सहकारी चलाउन पाउनु  पर्छ भन्ने बलियो तर्क उनीसँग छैन ।

निशाना मै लाग्यो अँध्यारोको तीर !    

खासमा सहकारी विभागसँग कति वटा संस्थामा दोहोरो/तेहोरो सञ्चालकहरू छन् भन्ने यकिन तथ्यांक नै छैन । तरपनि सदस्यहरूबाट गुनासो आएका कारण त्यसैको भरमा विभागले यस्तो पत्र काटेको देखिन्छ । तर, अनुमानको आधारमा चालिएको यस्तो कदमले सहकारी सञ्चालकको आवरणमा ठगी गर्ने मनसायले अनेकौँ नाममा सहकारी खोलेकाहरूमा भने ठुलो छटपटी देखिएको छ ।

सहकारी विभागको उक्त निर्देशन कार्यान्वयन नगर्न सहकारीकर्मीहरुले नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग समेत गुहारोका छन् । उक्त निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचमै नेतृत्व छोड्दा अन्यौल सिर्जना हुने भन्दै एमालेाके सहकारी विभागले पनि विज्ञप्ति जारी गरेको थियो । 

त्यस्ता कुनियत बोकेकाहरूको पहुँच र प्रभाव कुन तहसम्म छ भन्ने कुराको प्रमाण सहकारीकर्मीहरुको पछिल्लो गतिविधि बनेको छ । नियम विपरीत एउटै व्यक्ति धेरै सहकारी संस्थाहरूमा सञ्चालक रहेको महासंघकी अध्यक्ष मल्ल पनि स्वीकार गर्छिन् ।

उनी भन्छिन्, ‘एउटै व्यक्ति दुई तीन वटा सहकारीमा सञ्चालक, अध्यक्ष बसेका छन् । त्यो हामीले पनि भेटेका देखेका छौँ । एउटै परिवारका सदस्यहरू विभिन्न संस्थामा रहेर सहकारी सञ्चालन गरिरहेको पनि छन् ।’  तर, कानुन विपरीत भएका यस्ता कामको दाबेदार भने उनी खुलेर गरिरहेकी छिन् । संस्थागत बल नै खराब अभ्यासको रक्षामा लागेको छ ।    

तर, सहकारीमा कतिले दोहोरो पद लिएका छन् भन्ने तथ्यांक विभागसँग नै छैन । विभागमा दोहोरो पदमा रहेकाहरूकोबारे गुनासो तथा उजुरी आउने गरेको तर यकिन सङ्ख्या भने थाहा नभएको विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी उपाध्याय बताउँछन् ।   

दोहोरो पदमा रहेकाहरूको तथ्यांक विभागसँग नरहेको स्वीकार गर्दै उनी अगाडी भन्छन्,  ‘यतिकै सङ्ख्याका सहकारीमा दोहोरो पद धारण गरेकाहरू छन् भन्ने यकिन छैन । तर, विभागमा गुनासो, उजुरी आएका छन् । हामी अनुगमनमा जाँदा दोहोरो मात्रै होइन तेहेरो पद समेत रहेकाहरू भेटाएका छौँ ।’   

दोहोरो पद धारणको विषयलाई लिएर विभागले २०८० मंसिर १० गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र नै काटेको थियो । त्यहाँ पनि सहकारी ऐनमा भएको व्यवस्थालाई धज्जी उडाउँदै दोहोरो पदमा बस्दै आएकोबारे विभाग जानकार थियो । त्यसैले विभागले उक्त पत्र मार्फत कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुन सक्ने भनेको थियो ।  

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको शपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने ब्यहोरा आदेशअनुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।     

कारबाहीको तयारीमा विभाग 

विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी उपाध्यायका अनुसार निर्देशन पालना भए नभएकोबारे अनुगमन गर्ने तयारीमा विभाग छ । विभागले दिएको निर्देशन ३० दिनभित्र पालना नगरेमा त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्ने विभागको भनाई छ ।

‘हामीले ऐनमा भएको कुरा पालना गर्न भनेका हौँ । निर्देशन जारी भएको ३० दिन पुरा भएपछि हामीले पुनः अनुगमन गर्छौ । यदि दोहोरो पद रहेको पाएमा हामी कारबाही गर्छौ’, उपाध्यायले भने ।