शीर्षकहरू

सहकारी समस्या सम्बन्धमा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

सहकारी समस्या सम्बन्धमा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेको छ ।
 
समितिले आज मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत समूह, नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीम ढुङ्गानालगायतका प्रतिनिधि, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेलगायतसँग छलफल गरेको छ । बैठकमा देशभरका सबै पालिकासँग सहकारीसम्बन्धी विवरण भराउने विषयमा छलफल भएको सभापति सूर्यबहादुर थापा क्षत्रीले सञ्चारकर्मीलाई जानकारी दिए । 
 
देशभरका सात सय ५३ स्थानीय तहले हेर्ने सहकारी २४ हजार रहेको र ती सहकारीमा समस्या नरहेको कुरा आजको छलफलबाट जानकारीमा आएको सभापति थापाले बताए । सहकारी ऐनअनुसार बन्नुपर्ने कर्जा सूचना केन्द्र, कर असुली  न्यायधीकरणलगायत संरचना नबनाउँदा सहकारीमा समस्या आएको छलफलमा सहभागीले विचार व्यक्त गरेको उनले सुनाए ।    

सहकारीसम्बन्धी राम्रो ज्ञान नभएका मानिसहरू मिले बनाइएका सहकारीमा समस्या देखिएका र  सहकारी शिक्षा तथा चेतना भएका ठाउँमा सहकारीका नाममा ठगी नभएको तथ्य पनि बैठकमा प्रस्तुत भएको थियो । बचत तथा ऋण सहकारी संस्था बढी भएर समस्या आउन थालेकाले उत्पादनमूलक सहकारी बढाउनुपर्नेमा पनि बैठकका सहभागीले जोड दिएका समे सभापति थापाले सञ्चारकर्मीलाई जानकारी गराए ।