शीर्षकहरू

करिब दुई दशकदेखि पोते व्यवसायमा लागेका आलम, जो अहिले व्यापार नभएर पिडामा छन्

करिब दुई दशकदेखि पोते व्यवसायमा लागेका आलम, जो अहिले व्यापार नभएर पिडामा छन्

काठमाडौं । नुवाकोटका आब्बास आलम पोते व्यवसायमा लागेको करिब तीन दशक पुग्न लाग्यो । उनले काठमाडौंको इन्द्रचोकमा पोते व्यवसाय गर्दै आएका छन् । आफ्ना आमाबुवाले शुरु गरेको यो व्यवसाय पछि आलमले सम्हालेका हुन्  ।

म १५ वर्षको उमेरदेखि नै यो व्यवसायमा छु । पहिले बुवा आमा गर्नु हुन्थ्यो । पछि मैले सम्हालेको हो । पोते व्यवसायमा लागेको पनि १८ वर्ष बितिसक्यो’, उनले भने । 

डल्लु डेरा गरेर बस्ने उनी दिनभर इन्द्र चोकमा बिताउँछन् । शुक्रबार इन्द्रचोकमा रहेको उनको पसल पुग्दा उनी फुर्सदिलो अवस्थामा भेटिए । उनको पसलमा हरिया, पहेँलो, रातो लगायत विभिन्न रङका पोतेहरू बिक्रीमा राखिएका थिए । ग्राहक थिएनन् । उनी मोबाइल चलाइरहेका अवस्थामा भेटिएका थिए ।

साउन विशेष व्यापार कस्तो छ भनेर सोध्दा उनले जवाफमा भने, ‘ग्राहक छैनन व्यापार नभएपछि दिन कटाउन यसरी मोबाइल चलाएर बस्नु परेको छ ।’

विशेषगरि महिलाहरू साउन महिनामा सिरदेखि पाउसम्म हरियो पोसाकमा सजिने गर्छन् । हातमा हरियो चुरादेखि पोतेसम्म हरियो पहेँलो लगाउने गर्छन् । अन्य महिनामा भन्दा साउनको महिनामा हरियो चुरा, पोते निकै बिक्ने गर्छ । विवाहित महिलाले साउनको महिनामा हरियो पोते लगाउने गर्छन् । यसले गर्दा पनि यो महिना व्यापार बढ्नु पर्ने हो । तर, यस वर्ष व्यापार खासै नभएको आलमको अनुभव छ । 

सुन पसलले पोतेको व्यापार गर्दा पोते पसलेलाई मार परेको उनले सुनाए । ‘जुन पसलको लागि दर्ता गरिएको हो सो सामान मात्रै व्यापार गर्नु पर्ने हो । तर, हाम्रोमा सुन पसलेले पनि पोतेको व्यापार गर्छन् । हामी पोते मात्रै बेच्नेकोमा ग्राहक नै छैनन् । सुन पसले पोतेको पनि बिक्री गर्दा पोते पसललाई मार परेको छ’, उनले भने ।   

पोते व्यवसायबाट नै उनको चार जनाको परिवार चलाउनु पर्ने बाध्यता छ । पसलमा कामदार राखेका छन् । उनीहरूलाई पनि उनले तलब दिनु पर्छ । तर, व्यापार नहुँदा समस्या रहेको उनले उनले गुनासो गरे । 

व्यापार नभएका कारण व्यापारीहरू समस्यामा रहेको सुनाउँदै उनले भने, ‘देशमा रोजगारीको अवसर नपाउँदा युवा जनशक्ति दिनहुँ बाहिरी रहेका छन् । देशमा आर्थिक समस्या पनि देखिएको छ । जसका कारण नयाँ व्यवसाय गर्नेलाई डर पैदा भइरहेको छ । पुरानै व्यवसाय गरिरहेकालाई पनि चिन्ता छ ।’

सदाबहार भिड लाग्ने असन, इन्द्रचोकमा अहिले साउनको व्यापार हुने सिजनमा पनि ग्राहको चहलपहल देखिएको छैन । ‘पहिले दिनमै ५/६ हजार व्यापार हुनेमा अहिले दिनमा ४/५ सय पनि व्यापार हुँदैन । पसल कुर्ने काम मात्रै भएको छ । अहिले व्यापारीले धेरै प्रकारका समस्या भोग्नु परेको छ’ आलमले भने ।  

उनका अनुसार सटर खोलेर बस्ने व्यापारीहरूलाई अनलाइन मार्केटका कारण पनि समस्या रहेको छ । देशमा सरकार बद्ली रहने समस्या कारण पनि व्यापार व्यवसायमा समस्या देखा परिरहेको छ । वि.स २०७९ सालको स्थायी तहको चुनावपछि ओरालो लागेको बजारमा अहिलेसम्म पनि माथि उठ्न नसकेको आलम बताउँछन् । 

नजिकिँदै गरेको तीजमा  पनि व्यापार नहुने हो की भन्नेमा उनी चिन्तित छन् । आलम भन्छन्, ‘साउनमा त व्यापार छैन । आउँदै गरेको तीजमा पनि हुन्छ जस्तो लागेको छैन । तिजको रौनक अहिलेदेखि थाहा पाउनु पर्ने हो । बजारमा ग्राहक नै छैनन ।’   

साना व्यवसायीलाई सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । आलम भन्छन्, ‘साना व्यापारीलाई सरकारले न त सहयोग गरेको छ न त कुनै कुरामा छुट गरेको छ । सरकारले जबसम्म स्थायी खालको नीति ल्याउँदैन तबसम्म देशको स्थिति यस्तै हुन्छ ।’  

इन्द्रचोकमै जौनु दिन पाेते उन्ने काम गर्छन् । उनी काठमाडौं ठमेलका स्थायी बासि हुन् । जौनुका आमाबुबा पनि पोते उन्ने काम गर्दथे । उनले आमाले बुनेको पोते हेर्दाहेर्दै पोते बुन्न सिके । उनको परिवार नै पोते उन्ने काम गर्छन् । २४ वर्षको उमेरदेखि पोते उन्ने काम गरेका जौनु दिन अहिले ३४ वर्षका भए । 

उनको परिवारमा २ छोरा, एक छोरी, श्रीमती र आमाबुबा छन् । उनको काकाहरू पनि पोतेको पसल गर्दै आएका छन् । उनले सानो तिलहरिमा पोते उनेको एक सयदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन् । ठूलो अर्थात् माइली तिलहरिमा पोते उनेको दुई सयदेखि तीन सय रुपैयाँ लिने गर्छन् । 

यसरी कमाएर गुजारा चलाउने गरेका उनी अहिले आम्दानी घटेको सुनाउँछन् । जौनु भन्छन्, ‘भूकम्प अघि दिनमै ४८ हजारसम्म कमाउँथे । अहिले त ३ हजार पनि कमाई हुँदैन । ग्राहक फाट्टफुट्ट मात्रै छन् ।’