शीर्षकहरू

चर्खाले बदल्यो हेर्ने नजर: ‘नजिक नपर्नु बिगार्छे भन्नेहरू काम चाहिए बुद्धिमायालाई भेट्नु भन्छन्’

चर्खाले बदल्यो हेर्ने नजर: ‘नजिक नपर्नु बिगार्छे भन्नेहरू काम चाहिए बुद्धिमायालाई भेट्नु भन्छन्’

भनाई नै छ– ‘लिएको ज्ञान र सिकेको सिप खेर जाँदैन’ । यसको ज्वलन्त उदाहरण बनेकी छिन्, बुद्धिमाया घले । जसलाई करिब दुई दशकअघि सिकेको सिपले आज करोडौँको व्यवसायी बनाएको छ । 

त्यो एउटा सामान्य तालिम मात्र थियो । अरू धेरै साथीहरूले पनि सँगै तालिम लिएका थिए । तर, चितवनको कालिका नगरपालिका वडा नं. २ पदमपुरकी घलेले भने त्यसको सदुपयोग गरिन् । जसले उनको जीवन नै परिवर्तन गरिदियो ।    

पर्साको ठोरीमा जन्मिएकी उनको १५ वर्ष मै विवाह भयो  । त्यसबेला उनी कक्षा ८ मा पढ्दै थिइन । विवाहपछि पढाइलाई निरन्तरता दिन सकिनन् । घरको जिम्मेवारीले थिच्यो उनलाई। 

‘सम्पत्तिको नाममा एउटा घर मात्रै थियो । आफू नि सानै थिए । श्रीमान् पनि सानै हुनुहुन्थ्यो । सासू ससुरा बुढा भइसक्नु भएको थियो । घरको जिम्मेवारी थियो । के गर्ने भन्ने सोच्न नि सकिरहेको थिइन’, बुद्धिमाया भन्छिन्।   

त्यो जिम्मेवारी पुरा गर्न कै लागि उनले कामको खोजी गरिरहेकी थिइन । त्यसैबेला तालिमको अवसर मिल्यो । 

वि.सं. २०६२ सालमा पदमपुरमा राष्ट्रिय संरक्षण कोषले धागो कात्ने (चर्खा) सम्बन्धी तालिम सञ्चालन गर्‍यो । २० जना सहभागी उक्त तालिममा बुद्धिमाया पनि थिइन् । र, उनीसहित अन्य महिलाहरूले पनि सिप सिके । पछि उनकै नेतृत्वमा समूह गठन भयो ।  

त्यो क्षण सम्झिँदै घले भन्छिन्,  ‘यो कार्यक्रम सञ्चालन गर्ने बेलामा मेरो नेतृत्वमा समूह गठन गरियो । मलाइ नै किन छान्नु भयो भनेर डर लागेको थियो । नेतृत्व गर्न नसक्ने हो की भनेर म आफै आत्तिन्थे ।’   

सिप सिकेपछि त्यो सिपको उपयोगलाई निरन्तरता दिन भने निकै सकस पर्‍यो, उनलाई । ‘सुरुमा तालिम लिन बेस्सरी गाह्रो भयो । १६ दिनमा बल्ल बल्ल एक किलो भ्याउँथे । तर, हरेस खाइन । निरन्तर प्रयास गर्दै गएँ। अहिले यहाँसम्म आइपुगेँ ’, उनी भन्छिन् ।    

बुद्धिमायाका अनुसार आज उनी जहाँ छिन् त्यो सफलता हात पर्छ भन्ने उनले सोचेकी समेत थिइनन् । धेरै वर्षको अथक प्रयास पछि उनी सफल उद्यमी बनेकी छिन् ।  

पदमपुर गाउँ र चर्खा

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको पुरानो पदमपुर गाउँ विकास समितिलाई नेपाल सरकारको निर्णय अनुसार बस्तीमा रूपान्तरण गरिएको हो । वि।स। २०५२ सालदेखि वरण्डाभार जैविक मार्गमा रहेको वन क्षेत्रलाई कटान गरी बस्ती बसालिएको हो । यस क्षेत्रमा हाल धेरै जातजातीका मानिसहरूको बसोबास रहेको छ।  

पुरानो पदमपुरको गाउँ जस्ताको त्यस्तै रूपमा बस्ती बसालिएको हुँदा यो ठाउँको नाम पनि सोही पुरानो स्थान अनुसार नै छ । पहिला यस स्थान पदमपुर गाउँ विकास समिति थियो भने हाल देशमा भएको राजनैतिक परिवर्तन सँगै पदमपुर गाउँ विकास समिति कालिका नगरपालिकामा गाभिएको छ । हाल कालिका नगरपालिकाको वडा नं २, ३, ४ र ५ मा पर्छ, पदमपुर। 

चितवन राष्ट्रिय निकुञ्जको जंगलबीचमा बसेको साबिक पदमपुर गाविस नै स्थानान्तरण भयो । यहाँका स्थानीयहरू गुजारा चलाउन वन जंगलमा गई दाउरा चोरी निकासी गर्ने गर्थे । उनीहरूलाई घरमै बसेर आय आर्जन गराउन र जंगलमाथीको मानवीय चाप घटाउन चर्खा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम सञ्चालनपछि बुद्धिमायाकै नेतृत्वमा गाउँमा एक सय चर्खा बाँडियो ।  

सो कार्यक्रम दुई वर्षपछि बन्द भयो । व्यवस्थापनको अभावमा २०६४ सालमा चर्खा कार्यक्रम बन्द भएको थियो । तर, २०७० सालको जेठ महिनाबाट त्यसलाई फेरि सुरु गरिएको बुद्धिमाया बताउँछिन् । 

‘सुरुको दुई वर्ष राम्रै चलेको थियो । पछि व्यवस्थापन राम्रो हुन नसकेकाले बन्द भयो । ६ वर्षसम्म बन्द भएको यो कार्यक्रम फेरि सञ्चालन गरियो’, उनले सुनाइन् । 

...अनि खोलिन् उद्योग

उक्त कार्यक्रमबाट उत्पादन भएको सरसमानहरुलाई व्यवस्थित रूपमा बजार व्यवस्था गर्न अझै धेरै तालिम सञ्चालन गर्नु पर्छ भन्ने लाग्यो, उनलाई । एउटा संस्था नै आवश्यकता छ भनेर उनले उनले घरेलु तथा साना उद्योग कार्यालय चितवनमा उद्योग दर्ता गरिन् । नाम राखिन्, ‘बिएम हस्तकला प्रशिक्षण उद्योग’ ।  

‘पाँच लाख पुँजी राखेर उद्योग दर्ता गरेँ । चर्खाको काम गरेँ । सोही कामबाट कमाएको पैसा उद्योगमा लगानी गरे’, उनले भनिन्, ‘ऋण खोजेको कसैले दिएनन् । काम गर्दै थोरै थोरै बचत गरेको थिएँ । त्यही बचतको पैसा लगानी गरेँ ।’      

उद्योग दर्तापछि उनले आफूले सिकेको सिप अन्य महिलाहरूलाई पनि सिकाउन थालिन् । केहिलाई उद्योगमै राखेर काम दिएकी छिन् भने केहिलाई घरमै बसेर गर्न मिल्ने वातावरण मिलाएकी छिन् । उनीहरूलाई आम्दानीको राम्रो स्रोत बनाइदिएकी छिन् । कमाउने बाटो देखाइदिएकी छिन् । 

प्रत्यक्ष र अप्रत्यक्षरुपमा अहिले उनको उद्योगमा ६ सयजना श्रमिकहरू आबद्ध रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी महिला रहेका छन् । आदिवासी, जनजाति, दलित, चेपाङ र एकल महिलाहरूलाई प्राथमिकतामा राखेर उनले काम दिएकी छिन् । उनीहरू गलैँचा बुन्ने, ढाकाको काम गर्ने, ऊनीबाट धागो निकाल्ने काममा गर्छन्। बुद्धिमायाका अनुसार उनीहरूले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।  

बुद्धिमाया भन्छिन्,  ‘हामी उनीलाई कच्चा पदार्थ दिन्छौँ । उनीहरूले तयार गरेको सामान हामी खरिद गरिदिन्छौ । बिएम हस्तकला उद्योगले ऊन बुन्ने, गलैँचा तयार गर्ने, गिफ्टका सामानहरू बनाउने, ढाकाबाट सजावटका सामानहरू तथा कपडाहरू तयार गर्ने, सपिङ ब्यागहरू तयार गर्ने गर्दै आएको छ ।’  

उनका अनुसार उद्योगले ३९९ जना विपन्न महिलाहरूले चर्खा मार्फत ऊन कातेर आय आर्जन गरिरहेका छन् । १५० जना विपन्न महिलाहरूले गलैँचा बुन्छन् । २० जना विपन्न महिलाहरूले गिफ्टका सामान तयार गर्ने गरेका छन् । उनीहरूले राम्रो आयआर्जन गरी छोराछोरी राम्रोसँग पढाउनका साथै घर व्यवहार पनि चलाएको बुद्धिमाया बताउँछिन् ।  

‘सुरुमा म तालिम दिन्छु । तालिम पछि रोजगारी दिने गरेको छु । उनीहरूले अहिले राम्रो आम्दानी गरिरहेका छन्’, उनले भनिन्, ‘राेजेगारी पाएपछि धेरै समस्याहरू समाधान हुने रहेछ । हामीले रोजगारी दिएकाहरूले उहाँहरूले राम्रो गरिरहनु भएको छ ।’  

विदेश निर्यात, करोडौंको कारोबार 

बिएम हस्तकलाले उत्पादन गरेको सामानहरूको खास बजार भने विदेश नै हो । जर्मन, अष्ट्रेलिया, चीन, भारत लगायत देशहरूमा यस उद्योगले उत्पादन गरेका सामानहरू निर्यात हुँदै आएको छ । उनको उद्योगले अहिले वार्षिक तीनकरोड भन्दा बढीको कारोबार गर्दै आएको छ ।  

बुद्धिमायाको नेतृत्वमा सहकारी संस्था पनि छ, ‘चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था’ । उनीहरूले त्यसमार्फत पनि धेरैलाई जोडेका छन् ।  

‘सहकारी मार्फत पनि हामीले धेरैलाई काममा जोडेका छौँ । यसका सात सय बढी सदस्यहरूलाई काम दिएका छौँ । उनीहरूले गरेको आम्दानीको केही हिस्सा उनीहरूले सहकारीमै बचत गर्ने गरेका छन्’, उनले भनिन् ।  

उद्योग सञ्चालनको सुरुवातमा उनले त्यति धेरै आम्दानी गर्न सकिनन् । बिस्तारै भने उनको उद्योगले लय लिन थाल्यो । ऊनबाट धागो बनाउने काम गर्दै गर्दा उनले गलैँचा, ढाकाका कपडा, गिफ्टका सामानहरू बनाउने काम पनि विस्तार गरिन् । अहिले उनी वार्षिक तीन करोडसम्मको कारोबार गर्दै आएकी छिन् ।    

सिप सिक्ने हो भने भोकै बस्नु नपर्ने उनको अनुभव छ । बुद्धिमाया भन्छिन्,  ‘मुख्य कुरा भनेको हातमा सिप रहेछ । सिप सिक्ने हो भने भोकै बस्नु पर्दैन । महिलाले पनि आम्दानी गर्ने हो भने परिवार पनि खुसी हुन्छ । आफू पनि आत्मनिर्भर भइन्छ ।’

आफ्नो जीवन संघर्ष हेरेर अरू धेरै महिलाहरूले आत्मबल बढाउनु पर्ने बताउँदै उनी भन्छिन्, ‘मेरो जीवन सफल बनाउन धेरै संघर्ष गरेँ । पहिले धेरैले बुद्धिमायासँग नजिक नजानु है बिग्रिन्छौँ भन्थे । तर, अहिले रोजगारी चाहिए बुद्धिमायालाई भेट्नु भन्छन् । यो सुनेर खुसी लाग्छ ।’       

उनले विभिन्न समयमा उत्कृष्ट उद्यमीको पुरस्कार समेत पाएकी छिन् । वि.सं २०७६ सालमा उनलाई बागमती प्रदेश सरकारले प्रदेशकै दोस्रो उत्कृष्ट महिला उद्यमीको पुरस्कार दियो । त्यस्तै, उनलाई २०७८ सालमा उद्योग तथा वाणिज्य विभागले उत्कृष्ट घरेलु उद्यमीको पुरस्कार प्रदान गरेको थियो ।