शीर्षकहरू

अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

काठमाडौं ।  वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको आज ९२ वर्षको उमेरमा आज निधन भएको हो । उनको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएको छ । 

पर्यटनमार्फत नेपाली कला, संस्कृति र सभ्यता विश्वमाझ प्रबद्र्धनमा श्रेष्ठले पु¥याउनु भएको योगदान अतुलनीय रहेको उनहरुको भनाइ छ । स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापक श्रेष्ठले ठूलो योगदान पु¥याएको उनहरुको भनाइ छ । 

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । “उहाँ नेपालका लागि सच्चा स्वयंसेवक हुनुहुन्थ्यो, पर्यटनमा मात्रै नभइ सामाजिक काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो”, मिश्रले भने, “पर्यटनको बजारीकरण र प्रवर्द्धनमा उहाँ जत्तिको अनुभवी व्यक्तित्व निकै कम छन् ।” पर्यटन क्षेत्रमा पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको उहाँको बुझाइ छ । “उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ”, उनले भने ।

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले प्रारम्भ गरेको महिला उद्यमशिलताको विकास स्वदेशमा मात्र नभई विदेशमा चर्चामा छ । उहाँ र उहाँको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताए । 

उनले भजे “मुलुकको कला, संस्कृति र सभ्यताको समीश्रण गरी व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरी विश्व पर्यटन बजारमा मानकका रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।”

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर चिनाउन श्रेष्ठ र उनले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताए । उनले श्रेष्ठ भौतिक रुपमा नरहे पनि उनले पर्यटन क्षेत्रमा पु¥याएको योगदान सधँै चीरस्मरण रहने बताए ।

नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएकी थिइन । पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ ।

श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । उनले नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैथाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरेको थियो ।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य जीवनको उत्तरार्धमा वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुने श्रेष्ठको उपस्थिति र ऊर्जाशील भनाइले नयाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाने गरेको बताए । 

“अम्बिका श्रेष्ठ पर्यटन व्यवसायीका लागि अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको छ”, उनले भने, “श्रेष्ठले महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याती कमाउनुभएको थियो । उहाँले गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।”

 नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रले आज अभिभावक गुमाएको बताए । “श्रेष्ठको गुणस्तरीय र वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान छ”, उनले भने, “श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तिकै सक्रियता थियो ।”

  विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मनुभएकी श्रेष्ठले पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्णय गरेकी थिइन । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ आएकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष थिइन । 

पछिल्लो समय उनकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहेकी थिइन । सफल महिला उद्यमीको रुपमा उहाँले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन । उनी विभिन्न सामाजिक संस्थासँग आवद्ध छन । श्रेष्ठको निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।