काठमाडौं । काठमाडौं उपत्यकालाई जोड्ने महत्वकाक्षी योजनाका रुपमा लिइएको बाहिरी चक्रपथ बन्ने सम्भावना अब न्युन हुँदै गएको छ । बाहिरी चक्रपथका लागि जग्गाको मुआब्जा दिन नसक्ने अबस्था देखिएसँग आयोजना बन्ने सम्भावना पनि कम हुँदै गएको हो । उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालका अनुसार बाहिरी चक्रपथ निर्माणको चर्चासँगै आयोजना क्षेत्रका जग्गा महगो भएपछि सरकारले मुआब्जाको रकम दिन नसक्ने अबस्थामा पुगेको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको बाहिरी चक्रपथ योजना काठमाडौं उपत्यका विकास प्राधिकरणले नै हेर्दै आएको छ । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनी गरेको थियो । कुल लम्बाई ७१.९३ किमी हुने चक्रपथको निर्माणका २०७४ बैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्ण रुप दिइसके अघि बढेको थियो । हरेक आर्थिक वर्ष चक्रपथ निर्माणको लागि बजेट पनि छुट्याइने गरेको छ ।
प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण शुरु हुने भनेर त्यस स्थानको जग्गा समेत अधिकरण समेत गरिसकेको छ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी रहेका थिए । चक्रपथको कुल लम्बाई मध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि र भक्तपुरमा २१.०५ किमी पर्ने विस्तृत परियोजना विवरण डीपीआरमा उल्लेख छ ।
सडकको दायाँबायाँ २५०/२५० मिटर ल्याण्ड पुलिङ गर्ने योजना समेत रहेको थियो । सानासाना टुक्रा जग्गामा कित्ताकाट भईसकेको ती स्थानमा बस्ती समेत बसी सकेकाले चक्रपथ निमार्णका लागि कठिनाई भएको आयुक्त ढकाल बताउछिन ।
उनले भनिन्, ‘बाहिरि चक्रपथको लागि चाहिने जग्गा रोक्का राख्न सकिएन । तत्कालिन अवस्थामा जग्गा रोक्का राख्न सकेको भए हुने थियो होला तर अब धेरै ढिला भइ सकेको, उक्त स्थानहरुमा बस्ती बसी सकेको र कित्ताकाट समेत खुलिसकेकाले ल्यान्ड फोलिङ माध्यमबाट चक्रपथका लागि जग्गा जुटाउने सम्भावना छैन् ।’
त्यसो त हाल प्राधिकरणसँग पर्याप्त बजेट पनि छैन । चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्राधिकरणको सम्पूर्ण गतिविधिका लागि एक अर्ब १३ लाख रुपैया विनिायोजन गारिएको छ । यो बजेटले उक्त आयोजनका लागि छुट्याउने अबस्था नभएको उनी बताउछिन ।
बाहिरी चक्रपथ निमार्णका लागि जग्गा रोक्का राख्न र मुआब्जा दिन निकै खर्चिलो भएका कारण पनि बाहिरी चक्रपथ निर्माण कार्य सजिलो नरहेको आयुक्ता ढकालको भनाई छ । त्यस बाहेक बाहिर चक्रपथको लागि अहिले तत्काल काम थालनी गर्न पनि नेपाल सरकारले सम्बन्धित ठाउँको जग्गा अतिक्रमण गर्न सक्नु पर्ने आयुक्त ढकाल बताउछिन । त्यसको लागि ठूलो रकम आवश्यक रहेको उनले बताइन् ।
दस प्याकेजमा विभाजित बाहिरी चक्रपथ
बाहिरी चक्रपथलाई १० वटा खण्डमा विभाजन गरी बनाउनका लागि डीपीआर तयार पारिएको थियो । काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड गरी १० वटा प्याकेजमा बाहिरी चक्रपथ विस्तार गरिने गरी प्रारम्भिक अध्ययन गरिएको थियो ।
काठमाडौंमा
काठमाडौंको चोभार–सतुङल (६.६ किमी) खण्डभित्र चोभारकै भूतखेल, पाँगा बालकुमारी, मच्छेगाउँ, सतुंगल हुँदै बलम्बुसम्म पुग्ने गरी डीपीआर तयार पारिएको थियो । सतुंगल पैयाँटार (१०.९२ किमी)मा सतुंगल–बलम्बु, बलम्बु–चुनिखेल, पुरानो नैकाप–किट्नी भञ्याङ, स्युचाटार–किम्सी, डाडाँ पौवा–सीतापाइला, चंगुनारायण रानीवन–पैयाँटारमा चक्रपथ पर्नेछ । पैयाँटार खड्का भद्रकाली (६ किमी)मा धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, विष्णुु बूढानीलकण्ठ, चपली घुम्ती हुँदै अगाडि बढ्ने गरी डीपीआर तयार पारिएको थियो ।
सनडोल–नयाँपाटी–थलीडाँछी (३.९६ किमी) खण्डभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गाकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमाना राखिएको थियो ।
भक्तपुरमा
भक्तपुरमा तीन खण्ड छन् । थली डाँछी भातेढिकुरो (९.५१ किमी) भित्र मनोहरा खोला, चागुँनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी खरीपाटी, बागेश्वरी, सुडाल, ताथली चित्तपोल, भातेढिकुरो अरनिको राजमार्गसम्म बाहिरी चक्रपथको रेखांकनसहितको डीपीआर तयार पारिएको थियो ।
भक्तपुरको खण्ड अरनिको राजमार्ग दधिकोट सिरुटार (३.५ किमी)मा नयाँ ठिमी अरनिको राजमार्ग, कटुन्जे, दधिकोट, सिरुटार लुभुको सिमानाभित्र रहेको क्षेत्रसम्म डीपीआर तयार पारिएको थियो ।
ललितपुरमा
ललितपुरमा लुभु हरिसिद्धि (५ किमी) खण्डमा लुभु, सानागाउँ, हरिसिद्धि र मूलसडक क्षेत्रभित्र यो सकडक पर्छ। यही जिल्लाभित्रको अर्कोखण्ड हरिसिद्धि–खोकना (८.९९ किमी) मा भने हरिसिद्धि, ठैव, भरुवारासी, धापाखेल, सुनाकोठी, बुङमती, खोकना, सानोखोकना, चोभार वाग्मती नदी हुँदै बाहिरी चक्रपथ निर्माण हुने रेखांकनसहितको डीपीआर तयार भएको थियो ।
ती मध्ये चोभार–सतुंगल (६.६ किमी) को निर्माण काम अघि बढाउन सरकारले २०७५ मा निर्णय गरेको थियो । उक्त खण्डमा बाहिरी चक्रपथ विस्तरका लागि १३ हजार ७६४ कित्ता जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । योजना बनाएको लामो समय बिति सक्दा पनि बाहिरि चक्रपथको कामले गति पाउन भने सकेको छैन् ।