शीर्षकहरू

मूल्य बढेर कारोबार सुस्ताएपछि १४५ केजी सुन स्टकमा, असारमा आयत शून्य

मूल्य बढेर कारोबार सुस्ताएपछि १४५ केजी सुन स्टकमा, असारमा आयत शून्य

काठमाडौं । सुनको मूल्य बढेपछि नेपाली बजारमा यसका गरगहनाको कारोबार सुस्ताएको देखिएको छ । फलस्वरुप बैंकहरुमा १४५ केजी सुन स्टक देखिएको छ । असार २९ गतेसम्म बैंकहरुमा सो बराबरको सुन स्टक रहेको हो । 

गत असार ८ गतेसम्म बैंकहरुमा २०१ केजी सुन स्टक थियो । त्योअनुसार पछिल्लो तीन साता बैंकबाट ५६ केजी मात्रै सुन बिक्री भएको छ । सामान्य अवस्थामा बैंकबाट मासिक २–३ सय केजी सुन बिक्री हुन्छ । गत महिनाहरु चैत–बैशाख–जेठमा पनि सुनको खपत उच्च थियो । तर, असारमा त्यो घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । 

संघकाअनुसार असारमा बैंकहरुले सुनको आयात नै गरेका छैनन् । व्यवसायीहरुबाट सुनको माग नभएपछि आयात पनि नगरेको बैंकहरुको भनाइ छ । नेपालमा सुन आयात गरेर व्यवसायीहरुलाई बिक्री गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै छ । 

मुख्यतः पछिल्ला महिनाहरुमा लगातर सुनको मुल्यले नयाँ रकेर्ड कायम गर्दै आएको छ । असारमा प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ सुनको मुल्य थियो, जुन त्यसबेला सम्मको सबै भन्दा बढी थियो । यसैगरि साउन २ गते अर्थात् बुधबार सुनको मूल्यले नयाँ रकेर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले बुधबारका लागि सुनको मुल्य १ लाख ४९ हजार ८०० रुपैयाँ तोकेको थियो । जुन हालसम्मकै उच्च हो । 

विशेषगरि गत चैतदेखि नेपालमा सुनको मुल्य बढ्दै आएको छ । बिगतका बर्षहरुमा पनि चीन–अमेरिका व्यापार युद्द, कोरोना महामारी, रुस उक्रेन युद्द लगायतका कारण सुनको मुल्य बढ्दै गएको थियो । मुद्रा निष्काशनका लागि सुन पहिलो सुरक्षण बस्तु हुनु, डलर कम्जोर हुनु, ठुला ठुला देशले सुन किनेर होल्ड गर्ने लगायतका कारण सुनको मुल्य बढ्दै आएको छ । तर, पनि सुनको खपत उच्च नै यिथो । चैत १७ गतेदेखि २८ गतेसम्म बैंकहरुमा भएको ११८ केजी सुन सकिएको थियो । त्यसपछि बैंहरुले बैशाखमा ५५० केजी सुन आयात गरेको थियो । त्यो सुन सकिन लागेपछि जेठमा २०० केजी सुन आयात भएको थियो । त्यस मध्य अहिले १४५ केजी सुन स्टकमा छ । त्योअनुसार गत जेठदेखि नै सुनको कारोबारमा कमी आएको देखिन्छ । 

गत आवमा कति भयो सुन आयात ? 
गत आर्थिक बर्ष २०८०–८१  नेपालमा २ हजार ६५१ केजी सुन आयात भएको छ । यो भन्सार बिभागले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकले देखाएको हो । असारमा सुन आयात नभएपछि गत आवमा आयात भएको सुनको अन्तिम तथ्यांक यही हो । जेठसम्म २३ अर्ब ६५ करोड ३९ लाखमा सो बराबरको सुन आयात गरिएको हो । त्यसबाट सरकारले ३ अर्ब ६५ करोड रुपैयाँ राजश्व पाप्त गरेको छ । 

अघिल्लो आव २०७९–८० मा २ हजार ९१७ केजी सुन आयात भएको थियो । रकमका आधारमा २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको सुन आयात भएको थियो । त्यसबाट सरकारले २ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो । परिमाणका आधारमा सुनको आयात घटेको छ । तर, रकमका आधारमा बढेको देखिन्छ । मुल्य बढेका कारण कम परिमाणमा आयात हुदाँ पनि लागत बढी पर्न गएको व्यवसायीहरु बताउँछन् । 

गत आव साउनमा २०० केजी सुन आयात भएको थियो । यसैगरि भदौमा ३०० केजी, असोजमा ४०० केजी, कात्तिकमा १०० केजी, मंसिरमा २०१ केजी, पुसमा १०० केजी, १०० केजी र फागुनमा ४०० केजी सुन आयात भएको थियो । यसैगरि चैतमा सुन आयात नभएको भन्सार बिभागको तथ्यांकले देखाउछ । त्यसपछि बैशाखमा ५५० केजी  र जेठ २०० केजी सुन आयात भएको थियो । असारमा भने सुन आयात भएको बैंकर्स संघले बताएको छ ।