शीर्षकहरू

गत आवमा १० अर्ब ७५ करोडको आईपीओ निष्काशन अनुमति

गत आवमा १० अर्ब ७५ करोडको आईपीओ निष्काशन अनुमति

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले १० अर्ब ७५ करोड रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासनका लागि अनुमति प्रदान गरेको छ । गत र्आिर्थक वर्ष उक्त रकम बराबरको ४ करोड ४५ लाख २६ हजारभन्दा बढी कित्ता आईपीओ निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । 

गत वर्ष अघिल्लो वर्षको तुलनामा ११ अर्ब ६२ करोड ४४ लाख रूपैयाँभन्दा बढीले आईपीओ निष्कासन अनुमति कम भएको छ । कित्तामा पनि अघिल्लो वर्षभन्दा गत वर्ष ९ करोड ८ लाख १३ हजारभन्दा कम आईपीओ निष्कासन अनुमति भएको हो । 

अघिल्लो वर्ष बोर्डले २२ अर्ब ३७ करोड ८६ लाख रूपैयाँभन्दा बढीको १३ करोड ५३ लाख ३९ हजारभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष आईपीओ निष्कासनका लागि ४२ कम्पनीहरूले अनुमति पाएकोमा गत वर्ष ९ कम्पनीले मात्र अनुमति पाएको बोर्डको तथ्याङ्कले देखाउँछ । 

अघिल्लो वर्ष बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्राथमिक बजार शुन्य नहुने गरी नियमित आईपीओ निष्कासनलाई प्राथमिकतामा राख्दै अनुमति प्रदान गरेका थिए । गत पुस २० गते अध्यक्षको जिम्मेवारीबाट हमाल विदाभएसँगै असार १२ गतेसम्म आईपीओ निष्कासन स्वीकृति प्रक्रिया ठप्प भएको थियो । अध्यक्ष पद रित्त रहेसँगै प्रभािवत बनेको आईपीओ स्वीकृति प्रक्रिया असार १२ गते रिलायन्स स्पिनिङ मिल्सले स्वीकृति पाएसँगै अघि बढेको हो । 

बोर्डमा अध्यक्ष पद हालसम्म परिपूर्ति हुन सकेको छैन् । अध्यक्ष पद रित्त रहेपनि अर्थमन्त्रालयबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने व्यक्तिको नेतृत्वमा हाल बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाइरहेको छ ।