शीर्षकहरू

सीआइटीले १.२५ प्रतिशत थप प्रतिफल दिने, साउन १ देखि ब्याजदर पनि परिवर्तन

सीआइटीले १.२५ प्रतिशत थप प्रतिफल दिने, साउन १ देखि ब्याजदर पनि परिवर्तन

काठमाढौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

आव २०७९/८० को नाफाबाट तत्कालिन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने कोषले जनाएको छ । कोषका अनुसार यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुनेछ ।

कोष सञ्चालक समितिले चालु आवको साउन १ देखि ब्याजदर पनि परिवर्तन गरेको छ । परिवर्तित ब्याजदर अनुसार कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको र योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको कोषले जनाएको छ । यस अघि यसको ब्याजदर ८.५ प्रतिशत रहेको थियो ।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी, उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बीमा कोषमा ६ र राष्ट्रसेवक जीवन बीमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९ प्रतिशत रहेको छ । त्यस्तै, सवारी कर्जामा ९ प्रतिशत छ । यसपूर्व शैक्षिक कर्जामा ९.५०,आवाश कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरावलोकन गर्ने गरेको छ ।