काठमाडौं । कोरोना संक्रमणले तहसनहस नेपालको अर्थतन्त्रमा पछिल्ला वर्षमा एउटा नयाँ संक्रमण ठूलै महामारीका रूपमा देखा परेको छ, त्यो हो– आर्थिक संकट । शहरमा जताततै ‘टु लेट’ अर्थात् भाडामा, तथा सटर भाडामा भन्ने मन्दीका भेरियन्टहरू देखा पर्न थालेका छन् ।
बजार शिथिल छ । व्यापारिक क्षेत्र र मलहरू सुनसान देखिन थालेका छन् । ठूला साना सबै किसिमका व्यापारमा मन्दीको असर देखिएको छ । यसकै असरस्वरूप सधैँ चलायमान देखिने असन–क्षेत्रपाटी बजार पनि केही समययता मन्दीको मार खेपिरहेको छ ।
साउन लागेसँगै यो क्षेत्र हरिया चुरा र पहिरनले भरिन्थ्यो । सामाग्री किन्ने ग्राहकको चहलपहल पनि असार अन्तिमदेखि नै बढिसक्थ्यो । सदाझै यस वर्ष पनि असन क्षेत्रमा साउन लागेको छ । पसलहरू हरिया पहिरन र चुराले भरिएका छन् । तर, मन्दीका कारण ग्राहक नपुग्दा भने व्यापारीहरू निरास देखिएका छन् ।
असन गल्लीमा लामो समयदेखि पोते बेचिरहेकी शेख हसिना सामान्य दिनहरूमा जस्तो पनि व्यापार नदेखिएको बताउँछिन् । 'साउन लागेसँगै व्यापार बढ्छ भन्ने आशा थियो, तर सामान्य दिनजस्तो पनि व्यापार छैन । विस्तारै बढ्छ कि!,' उनी भन्छिन् ।
विशालबजारको एक गल्लीमा भेटिएका महमद जाकिरको पीडा त्योभन्दा कम पीडादायी छन् । उनी बाटैमा उभिएर युवतीहरूलाई अफर सुनाउँथे, 'म्हेन्दी लगाउने, सस्तोमा' भन्दै चिच्याउँथे । तर यसपालि महानगरले कडाइ गरेसँगै उनी खुलेर फुटपाथमा म्हेन्दी लगाउन सकिरहेका छैनन् । फुटपाथमा ग्राहक खोज्छन्, मुस्किलले भेटिएका ग्राहकका हातमा कुनै गल्लीमा पुगेर म्हेन्दी लगाउँछन् । महानगरले कडाइ गरेपछि झनै सकश भएको उनी बताउँछन् ।
पोते तथा पहिरनको व्यापार गरिरहेका असन गल्लीका जुनैद अन्सारी पनि यसपालि ग्राहक नआएको बताउँछन् । उनी भन्छन्, 'पहिलेका साउनमा राम्रो व्यापार हुन्थ्यो, अहिले त लगनमा जत्तिको पनि छैन ।'