शीर्षकहरू

डेडिकेटेड ट्रंकलाइनबारे वैकल्पिक बाटो अपनाउनु पर्छ: इप्पान

डेडिकेटेड ट्रंकलाइनबारे वैकल्पिक बाटो अपनाउनु पर्छ: इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले डेडिकेटेड र ट्रंकलाइनबारे वैकल्पिक बाटो अपनाउनु पर्ने जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै इप्पानले यस्तो आग्रह गरेको हो । 

‘नेपाल विद्युत् प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निर्णयबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड÷बक्यौतालाई लिएर अरू उद्योगहरूको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक छ । यसकारण विधि सम्बद्ध ढंगबाट यसको समाधान गरी निजी क्षेत्रहरूको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाइदिन आग्रह गर्दछ । साथै द्धिपक्षीयबीच छलफल र संवादमार्फत यथाशीघ्र समस्या समाधान गर्नका लागि इप्पान दुवै पक्षलाई हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण र उद्योग व्यवसायीहरुबीच डेडिकेटेड÷ट्रक लाइनको बक्यौता सम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समयमा विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगहरूले यसको विरुद्ध अन्य उद्योगहरूले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता बढाएको इप्पानले जनाएको छ । 

‘वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको छ । सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरूले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरू, खपत गर्ने उद्योगहरू र यसको व्यवस्थापन गर्ने विद्युत् प्राधिकरणबिच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाइ भइसकेको समेत इप्पानको भनाई छ ।