शीर्षकहरू

त्रिशूलीले निलेकाहरुः कोही रोजगारीको खोजीमा निस्किएका थिए त कोही निम्तो मान्न

त्रिशूलीले निलेकाहरुः कोही रोजगारीको खोजीमा निस्किएका थिए त कोही निम्तो मान्न

शनिवार साँझतिर खबर आयो– गैँडाकोटमा दुई शव फेला पर्‍यो । उनले प्रहरीलाई हुलिया साेधे । उनीहरूको वर्णन आफ्नो छोरासँग मिल्दोजुल्दो पाए । त्यसपछि सर्लाही बरहथवा नगरपालिका वडा नं. ३ का रवीन्द्र माझी (४५) गैँडाकोट हानिए । नभन्दै फेला परेकामध्ये एक शव उनकै छोराको थियो । त्यसपछि उनले आफूलाई सम्हाल्न सकेका छैनन् । 

त्यसो त शनिवार अपराह्न सिमलतालमा भेटिदा उनी भन्दै थिए– भोक प्यास छैन । पेटमा अन्न नपरेको २४ घण्टा भयो ।’ 

हुन पनि छोरा चढेको गाडी त्रिशूलीमा परेको सुनेपछि होस् ठेगानमा छैन, रवीन्द्रको । अनायास आत्तिन्छन् । फेरि टोलाउँछन्, त्रिशूलीको भेल हेरेर ।  

छेउमा कोही भेटिए मोबाइलमा छोराको तस्बिर देखाउँथे । यही हो मेरो छोरो । सबैलाई उनले छोरो चिनाए । जो भेलमा हराइरहेका थिए । 

छोरो भेलमा परेको सुनेपछि उनी आत्तिँदै सिमलताल आइपुगेका थिए । जहाँ शुक्रबार बिहान ३ बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो । सोही बसमा उनका छोरा रमित माझी पनि थिए ।  

गौरमा दिदी नाता पर्नेको विवाह हुँदै थियो । विवाहमा सरिक हुन उनी गौर जाँदै थिए । तर, उनको यात्रा सिमलतालमै टुङ्गियो । 

रवीन्द्रका अनुसार रमितले बरबहथवाको गाडी चढेँ भनेर घरमा फोन गरेका थिए । शुक्रवार बिहान ११ बजे टिभी हेर्दा छोरो चढेको गाडी त्रिशूलीमा खसेको रवीन्द्रले चाल पाए । ‘त्यसपछि तुरुन्तै खोजी गर्न आएको हुँ,’ उनले भने । 

उनका अनुसार रमितले विवाह गर्ने तयारीमा रहेकी उनकी दिदी नाता पर्नेलाई गाडीको टिकट पठाएका थिए । सोही आधारमा उनको छोराले टिकट काटेको काउन्टरमा सोध्दा सोही गाडीमा छोरा रहेको पुष्टि भएको थियो ।   

रवीन्द्रका जेठा छोरा हुन्, रमित । उनका अर्का एक छोरा छन् । पाँच कक्षामै पढाइ छोडेका रमित लामो समय गाउँमै बसे । तर, तीन वर्ष यतादेखि भने उनी काठमाडौं बस्दै आएका थिए । काठमाडौं जोरपाटीमा ग्रिल उद्योगमा काम गर्थे १९ वर्षीय रमित । 

रमित दुर्घटनामा परेको खबर सुनेपछि घरमा उनकी आमा पनि होसमा छैनन् । श्रीमतीको त्यो अवस्थाको चिन्ता त छ्दैछ रवीन्द्रमा । त्यसमाथी उनले छोराको लास भरतपुर अस्पतालबाट कसरी घरसम्म लैजाने भन्ने भेउ पाएका छैनन ।  

जापान जाने रौपुलको सपना सिमलतालमै टुङ्गियो     

वीरगञ्ज कलैयाका रौपुल आलम पनि बिहीबार बिहान साथीसँग एन्जल डिलक्सको काउन्टरमा टिकट काट्न पुगेका थिए । वीरगञ्जदेखि काठमाडौंका लागि जापानीज भाषा परीक्षा दिनका लागि उनी काठमाडौं हिँडेका थिए ।     

दुर्घटनास्थलमा आफ्नो भाइको खोजी गर्न आएका दाजु सम्साद मन्सुर आलमले भने, ‘मेरो भाइको जापान भाषाको परीक्षा थियो । त्यसकै लागि उ काठमाडौं हिँडेको थियो । बिहान एक्कासी उसको साथी घरमा आएर भाइ चढेको गाडी त्रिसुलीमा खसेको खबर सुनायो ।’ 

सो खबर सुनेपछि उनी काउन्टर दौडिए । काउन्टरले भाइ सवार गाडी दुर्घटनामा परेको पुष्टि गर्‍यो । उनी केही साथीहरूलाई लिएर सिमलताल आएका हुन् ।  

अशोक गुप्ता पनि छिमेकी परमानन्द पेडितको खोजीका लागि आएका छन् । सिरिपुराका दयाशंकर पनि उनको मामाका छोरा र मौसाको छोराको खोजीको लागि आएका छन् । वैदेशिक रोजगारीका लागि मेडिकल गराउन उनीहरू काठमाडौं हिँडेका थिए । तर, उनीहरू हाल त्रिशूलीमा बेपत्ता छन् ।  

दुर्घटनास्थलमा भारतीय नागरिकहरू पनि आएका छन् । उनीहरूका पनि आफन्त दुर्घटनामा परि बेपत्ता छन् । भारतको मोतिहारीका शहनवाज आलम हालसम्म बेपत्ता छन् । उनी वीरगञ्जबाट काठमामाडौंका लागि यात्रा गरिरहेका थिए । 

उनको खोजीका लागि काका मोहमद जाबेद आलम घटनास्थल आइपुगेका छन् । उनका अनुसार शहनवाज काठमाडौंमा सिलाइको काम गर्थे । भारत घर पुगेर उनी नेपाल फर्किँदै थिए ।     

शहनवाजका बुवाको मृत्यु भइसकेको छ । घरमा उनको एक भाइ र आमा मात्रै छन् । 

दुर्घटना स्थलमा बेपत्ता भएका आफन्तहरूको बाक्लो भिड छ । उनीहरू आफन्तको खोजीका लागि आएका छन् । हालसम्म बस नै फेला नपरेकाले आफन्तको शव फेला नपर्ने हो की भन्नेमा उनीहरू शशंकीत छन् । 

हाइ करेन्टले फेला पार्न समस्या 

नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म हेटौडाका सुमन रायमाझी लगायतका पाँच जनाको टोली शनिवार बिहानैदेखि खोजी कार्यमा जुटेको छ । ‘हामीले बिहान सात बजेदेखि खोजी कार्य शुरु गरेका हौँ । पानी भित्र एकदमै तीव्र वेग (हाइ करेन्ट) छ । भित्र जान सक्ने अवस्था छैन । हामीले दुई सय मिटर आसपास खोजी गर्दा त्यहाँ केही फेला परेन ।’

उनका अनुसार बस खोज्न नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय लगायतका टोली खटिएका छन् । बस खसेको ठाउँ वरपर बाँसका भाटा, बाइनाकुलर टेलिस्कोप र वाटर ड्रोन लगायतको सहायताले खोजी गरिरहेको छ । तर, हालसम्म बस फेला परेका छैनन ।   

ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने खोजी गरिने तयारी भएको उनले जानकारी दिए । दुर्घटनास्थल वरपर बस फेला नपरेपछि चितवनको गोलाघाटसम्म खोजी गर्न थालिएको छ । खोजी तथा उद्धारका लागि सबै खालका प्रयासहरूलाई जारी रहेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रदीप कुमार कार्कीले घटनास्थल वरपर सबैखालका प्रयास गर्दा पनि बस र मानिसहरूको शव फेला नपरेको जानकारी दिए । उनले शनिवार भने, ‘हामी पनि बिहानैदेखि यहाँ खटिएका छौँ । हालसम्म सबै प्रयास गरेर खोजी गरिरहेका छौँ । भेटाउन सकिएको छैन । यहाँ नजिक कतै भेटिने सम्भावना कम छ ।’  

त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

भेटिएनन् दुइटै बस, पाँच जनाको शव फेला   

शुक्रबार बिहान ३ बजेको समयमा मुग्लिन नारायणगढ सडक अन्तर्गत भरतपुर महानगरपालिका सिमलतालमा दुई वटा बस पहिरोमा परे । ६५ यात्रु सवार बसहरूको शुक्रबार बिहानैदेखि खोजी कार्य तीव्र पारिए पनि दुई वटै बस अझै भेटिएका छैनन ।  

हालसम्म पाँच जनाको मात्रै शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २८ नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा पहिलो शव फेला परेको थियो । उनको साथमा रहेको आधार कार्डको आधारमा उक्त शव भारतीय नागरिक ऋषि साह रहेको खुलेको हो ।

शनिवार दिउँसो नै पूर्वी नवलपरासीको गैँडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जना पुरुषको शव भेटियो । आइतबार थप दुई जनाको शव फेला परेको छ । अझै ५७ जना बेपत्ता छन् । 

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रुले हाम फालेर ज्यान जोगाएका थिए ।  

सरकारले बाटोको अवस्थाबारे जानकारी दिनुपर्छ: व्यवसायी

सरकारले खतरनाक बाटोको पहिचान गर्नु पर्ने नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी बताउँछन् । उनी भन्छन्, ‘सरकारले पानी परिरहेको बेलामा कुन सडक खतरामा छ भन्नेबारे जानकारी दिनुपर्छ । खराब अवस्थामा रहेका बाटोहरूमा गाडी कुदाउन दिनु हुँदैन । यसमा हामी व्यवसायी पनि सकारात्मक छौँ ।’

प्रत्येक वर्ष सडकमा मानिसहरूले अकालमा ज्यान गुमाइरहेकाले यसबारे सरकारले बेलैमा सही कदम चाल्नु पर्ने उनको माग रहेको छ ।   

याे पनिः सिमलताल पहिरो: त्रिशूलीमा बेपत्ताहरूको खोजीमा भौतारिरहेका आफन्त