शीर्षकहरू

सिमलताल पहिरो: त्रिशूलीमा बेपत्ताहरूको खोजीमा भौतारिरहेका आफन्त

चितवन । भरतपुर महानगरपालिका–२९, सिमलताल । जहाँ शुक्रबार बिहान ३ बजे दुई वटा बसलाई यात्रुसहित पहिरोले त्रिशूलीमा झारेको छ। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएका छन्।

पहिरो खसेको सिमलतालको आसपास र नारायणी नदी क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य भइरहेको छ । तर, हालसम्म पाँचवटा शव फेला परेका छन् । जसमध्ये तीन जनाको मात्र सनाखत भएको छ । बसको एउटा पर्दा बाहेक कुनै नाम निसाना भेटिएको छैन ।

यी दुई बसमा ५१ जना यात्रुले टिकट काटेको देखिको छ । हाल आफन्त खोजी गर्न घटनास्थल पुगेका मानिसहरूबाट प्राप्त विवरणको विश्लेषण गर्दा दुई बसमा जम्मा ६५ जना यात्रु रहेको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

हाल सिमलताल क्षेत्रमा बेपत्ता भएकाहरूको आफन्तहरू खोजीका लागि पुगेका छन् । सिमलतालमा बेपत्ताहरूको आफन्तहरूको बाक्लो भिड छ । प्रशासनले ५० जना गोताखोर र अन्य प्रहरी गरी २०० भन्दा बढी जनशक्ति खोजी कार्यमा तल्लीन रहेको बताएको छ । तर, खोजी कार्यले तीव्रता नपाएको आफन्तहरूले गुनासो गरिरहेका छन् ।

आफन्तहरूको भिडमा शनिवार दिउँसो भेटिए, मिराज मन्सुरी । कलैया घर भएका मन्सुरी बेपत्ता भाइको खोजीमा आएका हुन् । उनका भाइ वीरगन्जबाट काठमाडौं हिँडेका थिए । ल्याब टेक्निसियन रहेका रौपुल गाउँमै ल्याब चलाएका बसेका थिए । उनी जापान जाने भनेर जापानी भाषा पनि सिक्दै थिए । जापानी भाषा परीक्षाका लागि काठमाडौं हिँडेका रौपुल आलम सो पहिरोमा परेर हाल बेपत्ता छन् ।

घटना घटेको तीन दिन हुँदासम्म हालसम्म उनले आफ्नो भाइको अवस्थाबारे जानकारी पाएका छैनन् । बेपत्ताहरूको खोजीकार्य भइरहे पनि हालसम्म फेला नपरेका कारण उनी आत्तिएका छन् । ‘अहिलेसम्म बस त भेटिएको छैन । मान्छे भेटिने कहिले हो, कहिले । यसरी खोजेर कहिले भाइलाई भेटाइदिन्छन् र लैजानु’, उनले भने ।  

बारा घर भएका उनका साथी रेडियोलोजी विभागमा काम गर्थे । उनीहरू दुवै जना जापान जाने सपना बुनेर परीक्षाका लागि काठमाडौं जाँदा पहिरोमा परेका थिए । तर, उनीहरूको सपना सिमलतालको पहिरोसँग बगेको छ । दाइ मिराज भन्छन्, ‘अब भाइको जीवनको आस त छैन, लास भए पनि चाँडै खोजिदिउन् ।’

बेपत्ताहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । नदी किनारमा सुरक्षाकर्मीहरूले खाजी कार्य गरिरहेका छन् । पहिरो खसेको सडक छेउमा आफन्तहरू भौँतारिँदै त्यहाँको दृश्य हेरिरहेका छन् ।

अशोक प्रसाद गुप्ता पनि छिमेकी परमानन्द पीडितको खोजीका लागि आएका छन् । सिरिपुराका दयाशंकर पनि उनको मामाका छोरा र मौसाको छोराको खोजीको लागि आएका छन् । वैदेशिक रोजगारीका लागि मेडिकल गराउन उनीहरू काठमाडौं हिँडेका थिए । हाल उनीहरू पनि त्रिशूलीमा बेपत्ता छन् ।

दुर्घटनास्थलमा भारतीय नागरिकहरू पनि आएका छन् । उनीहरूका पनि आफन्त परेका छन् । भारतको मोतिहारीका शहनवाज आलम पनि परेका छन् । उनी वीरगन्जबाट काठमाडौंमा लागि आएका थिए । उनको खोजीका लागि उनका काका मोहम्मद जावेद आलम घटनास्थल आइपुगेका छन् ।

हालसम्म बस नै फेला पर्न नसक्दा आफन्तहरू आक्रोशित बनेका छन् । घटनास्थलमा पुगेका उनीहरूले खोजी कार्यलाई अझ सशक्त पार्न अनुरोध गरिरहेका छन् ।