शीर्षकहरू

१६ प्रतिशतले घट्यो बैंक तथा वित्तिय संस्थाको नाफा, ११ महिनामा ६२ अर्ब मात्रै

१६ प्रतिशतले घट्यो बैंक तथा वित्तिय संस्थाको नाफा, ११ महिनामा ६२ अर्ब मात्रै

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा नेपालमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुले ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । 

यद्यपि, बैंक तथा वित्तिय संस्थाको यो नाफा गत आवको सोही अवधिको भन्दा १६.०५ प्रतिशतले कम हो । गत आवको ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरुले ७३ अर्ब ८० करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए । त्योअनुसार समिक्षा अवधिमा बैंक तथा वित्तिय संस्थाको नाफा ११ अर्ब ८४ करोड ९० लाख रुपैयाँले घटेको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुको कर्जा असुली न्यून छ । त्यसले गर्दा बैंकहरुमा निष्क्रीय कर्जाको अनुपात पनि बढ्दै गएको छ । निष्क्रीय कर्जा बढेपछि बैंकहरुले निष्क्रीय कर्जा बापत राख्नुपर्ने प्रोभिजनीङ रकम पनि बढ्दै गएको छ । त्यसले बैंकहरुको नाफा घटाएको बैंकहरुहरु बताउँछन् । 

। यसैगरि  पछिल्लो समय देखिएको आर्थिक शिथिलताले कर्जाको माग पनि न्यून छ । त्यसले स्वतः कर्जा विस्तार कम्जोर बनाएको छ । बैंकहरुको मुख्य आम्दानी स्रोत नै कर्जाको व्याज हो । तर, कर्जा प्रवाह प्रभावित भएपछि व्याज मार्फत हुने आम्दानी पनि कम्जोर भएको छ । यता बढ्दो निक्षेपले बचतकर्तालाई व्याजबापत दिनुपर्ने दायित्व (खर्च) बढ्दै गएकोछ । गत बर्ष तरलता अभाव हुदाँ उच्च व्याजदरमा लिएको निक्षेप अझै परिपक्क भएको छैन । अहिले व्याजदर सस्तो भएपछि त्यस्ता निक्षेपमा भने पुरानै दरमा व्याज दिनुपर्छ । यी यस्ता कारण बैंकहरुको खर्च बढेको छ । तर, आम्दानी कम्जोर छ । त्यसले गर्दा नाफा प्रभावित भएको बैंकहरु बताउँछन् । 

समिक्षा अवधिमा बाणिज्य बैंकहरुको नाफा मात्रै १० अर्ब ७८ करोड १४ लाख रुपैयाँले घटेको छ । हाल नेपालमा २० बाणिज्य बैंक छन् । गत आवको ११ महिनामा बाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । अहिले त्यो १६ प्रतिशतले घटेर ५६ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको तथ्यांकले पुष्टी गरेको छ ।

समिक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त बैंकले ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । धेरै नाफा कमाउनेमा दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । समिक्षा अवधीमा उक्त बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । उक्त बैंकले समिक्षा अवधीमा ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

यसैगरि समिक्षा अवधीमा अन्य ६ बाणिज्य बैंकले ३ देखि ४ अर्ब रुपैयाँको बीचमा खुद नाफा कमाएका छन् । त्यसमा प्राइम कर्मशिलय बैंकले ३ अर्ब ५५ करोड ५१ लाख, एभरेष्ट बेंकले ३ अर्ब ३१ करोड ३१ लाख, राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ६ करोड ८३ लाख, प्रभु बैंकले ३ अर्ब ३ करोड ४२ लाख, कृषि विकास बैंकले ३ अर्ब २ करोड ४८ लाख र स्ट्यान्र्डड चार्टड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यी बाहेक ५ बाणिज्य बैंकको नाफा २ देखि ३ अर्ब रुपैयाँको बीचमा देखिएको छ । त्यसमा एनएमबी बैंकले २ अर्ब ७७ करोड ६३ लाख, हिमालयन बैंकले दुई अर्ब ७६ करोड ६० लाख, लक्ष्मी बैंकले २ अर्ब ३७ करोड ४२ लाख, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड १ लाख र एनआईसी एसिया बैंकले २ अर्ब २३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

बाँकी ६ बैंकको खुद नाफा भने २ अर्ब रुपैयाँ भन्दा कम छ । त्यसमा सिटीजन्स इन्टरनेशल बैंकले १ अर्ब ७५ करोड ६७ लाख, सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख, कुमारी बैंकले १ अर्ब ६७ करोड ४५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड ५१ लाख, माछापुच्छ«े बैंकले १ अर्ब २८ करोड ४१ लाख र नेपाल बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।