शीर्षकहरू

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीनरचार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने । उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स  बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए । 

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।