शीर्षकहरू

त्रिशूलीमा बेपत्ता बसका चालकले साथीलाई फोनमा भनेका थिए– विस्तारै आउनू, पहिरो झर्दैछ

त्रिशूलीमा बेपत्ता बसका चालकले साथीलाई फोनमा भनेका थिए– विस्तारै आउनू, पहिरो झर्दैछ

काठमाडौं । शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेर बेपत्ता एञ्जल डिलक्सकका चालकले वीरगञ्ज–काठमाडौं चल्ने अर्का बसका चालकलाई पहिरोबारे जानकारी गराएको खुलेको छ । अर्का चालकलाई सचेत गराएका एञ्जल डिलक्सका चालक आफैँले चलाएको बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा खसेर बेपत्ता हुन पुगेको हो ।

एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बस जवाहीर महतोले चलाएका थिए । मुग्लिनको सिमलतालमा खसेको लेदोसहितको पहिरो लागेर बस त्रिशूलीमा खसेको थियो । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।

उक्त दुर्घटना हुनुभन्दा करिब साढे दुई घण्टाअघि चालक महतोले अर्का बस चालक जोगराज चौधरीसँग फोनमा कुरा गरेका थिए । चौधरीले आफू काठमाडौंबाट यात्रु बोकेर वीरगञ्ज जाँदै गरेको बेला त्रिशूलीमा बससहित बेपत्ता भएका चालक महतोले बाटोबारे जानकारी गराएको आर्थिकन्यूजलाई बताए । उनले भने, 'उहाँले राति १ बजेतिर फोन गर्नुभएको थियो । बाटो अप्ठ्यारो रहेको र ठाउँ–ठाउँमा पहिरो खसिरहेकाले विस्तारै आउन भन्नुभएको थियो।'

 

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।