शीर्षकहरू

३४ करोड ८० लाख खर्चिएर भद्रकाली मन्दिरमा के बनाउँदैछ महानगर?

३४ करोड ८० लाख खर्चिएर भद्रकाली मन्दिरमा के बनाउँदैछ महानगर?

काठमाडौं । भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेसँगै बिहीबारदेखि पुनःनिर्माण थालनी भएको हो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गरेका थिए । 

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो ।  महानगरपालिकाका अनुसार यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा ब्लक आपसमा जोडिएका हुने र दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा आपसमा जोडिएका ब्लक हुने बताइएको छ । 

यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ । 

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । यसको डिजाइन शहरी योजना आयोगले तयार पारेको हो । 

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । 

शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन् । 

यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमशः हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गरे । यससँग स्थानीयबासीका संस्कार, संस्कृति तथा आस्था र परम्परा जोडिएको बताउँदै उनीहरूले भद्रकाली पुनःनिर्माणमा विषयमा स्थानीयको चासो रहेको तथा यसका हरेक पक्षमा छलफल गर्दै आपसी बुझाइमा एकरुपता कायम गरेर पुनःनिर्माण हुने बताए ।

यो काम समयमा नै सम्पन्न हुनु पर्नेमा जोड दिँदै उनीहरुले पुरातत्व विभाग र गुठी संस्थानलाई यसका अन्तरबस्तुमा चित्त नबुझेको केही भए महानगरपालिकामा आएर छलफल गर्न आग्रह गर्दै निर्माण कार्यका अवरोध हुने अभिव्यक्ति दिन वा क्रियाकलाप नगर्न सचेत गराए । 
 
भद्रकाली भौगोलिक रुपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्छिन्, 'यो बहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माणको काम हो ।'

महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, भद्रकाली गुथिसहित सरोकारवाला पुनःनिर्माणका साझेदार रहेका छन् ।

गएको जेठ ३० गते काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बैठक बसेर पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो । यही बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो । 

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई रहेकी छन् । 

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।