शीर्षकहरू

एमालेको सरकार बन्ने भएपछि लगानीकर्तामा उत्साह, नेप्से २२ सय बिन्दुमाथि

कारोबार रकम पनि ६ महिनायताकै उच्च

एमालेको सरकार बन्ने भएपछि लगानीकर्तामा उत्साह, नेप्से २२ सय बिन्दुमाथि

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन भई केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि लगानीकर्तामा उत्साह देखिएको छ ।

कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै अघिल्लो साताको सोमबारदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै गएको छ । गत सोमबार ४ अंकको सामान्य करेक्सनबाहेक नेप्सेले आफ्नो उकालो यात्रा जारी राखेको छ । विशेषगरी नयाँ सरकारमा लगानीकर्ताका लागि उदार मानिएका एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै लगानीकर्तामा उत्साह देखिएको हो ।

बिहीबार नेप्से परिसूचक २२ सय बिन्दुमाथि पुगेको छ । आज २९ दशमलव २१ अंकले बढेर नेप्से परिसूचक २२ सय ४ दशमलव ६१ बिन्दुमा पुगेर बन्द भएको छ । 

यो करिब एक वर्षयताकै उच्च हो । गत वर्ष साउन ८ गते नेप्से परिसूचक २२ सय शून्य दशमलव ५० बिन्दुमा पुगेकोमा त्यसयता परिसूचक सोभन्दा माथि पुग्न सकेको थिएन ।

यस दिन १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ । 

आज बलेफी हाइड्रोपावरको ९.९९, सिटिजन सुपर-३० म्युचुअल फण्डको ९.९७ र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्टेबल फण्डको ९.८३ प्रतिशतले शेयर बढेको छ । 

आज समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र एनएमबी क्यापिटलका लगानीकर्ताले भने सर्वाधिक ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यस दिन ७ अर्ब ८ करोड रुपैयाँको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको थियो । आजको कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको पुस २६ गते शेयर बजारमा ७ अर्बमाथिको कारोबार भएको थियो ।