शीर्षकहरू

रोकियो आजदेखि निष्काशन गर्ने भनिएको रिलायन्स स्पिनिङको आईपीओ

रोकियो आजदेखि निष्काशन गर्ने भनिएको रिलायन्स स्पिनिङको आईपीओ

काठमाडौं । आजदेखि निष्काशन गर्ने भनिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ रोकिएको छ ।

बुधबार नेपाल धितोपत्र बोर्डले सार्वजनिक लेखा समितिलाई स्पष्ट जवाफ नदिएसम्मका लागि कम्पनीको आईपीओ रोक्ने निर्णय गर्दै कम्पनीलाई पत्र पठाएको थियो । बोर्डको निर्देशन बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि आईपीओ निष्काशन प्रक्रिया रोकिएको जानकारी बिहीवार कम्पनीले सूचनामार्फत गराएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको थियो । कम्पनीले बोर्डबाट असार १३ गते सर्वसाधारणका लागि ९४ करोड ८८ लाख ११ हजार ९६८ रूपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । बोर्डको अनुमति पाएसँगै सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले विक्री गर्न लागेको थियो ।

यसअघि कम्पनीले गत माघमा योग्य  संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता आईपीओ विक्री गरिसकेको छ । प्रतिकित्ता ९१२ रूपैयाँमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री गरेको कम्पनीले सर्वसाधारणमा उक्त मूल्यभन्दा १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २ रूपैयाँ ८ पैसामा झरेको छ । गत असार मसान्तसम्म ५४ रूपैयाँ ३४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको पछिल्लो ९ महिनामा प्रतिशेयर आम्दानी उल्लेख्य मात्रामा घटेको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको आईपीओका मूल्य लगानीकर्तामा भार पर्ने चर्चा चलेको थियो । सर्वोत्र चर्चापछि सार्वजनिक लेखासमितिले यस कम्पनीको आईपीओका सम्बन्धमा पाँच प्रश्न गर्दै मंगलवार सात दिनभित्र जवाफ पठाउन बोर्डलाई निर्देशन दिएका थियो । सोही निर्देशन बमोजिम कम्पनीको आईपीओ तत्कालका लागि रोकिएको हो ।

नेपालमा लागू भएको बुक विल्डिङ विधिबाट दोस्रो कम्पनीको रुपमा यस कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो । यस अघि सर्वोत्तम सिमेन्ट्सले यो बिधिबाट आईपीओ निष्कासन गरेको थियो । २०५२ साल भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागोहरु उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।

कम्पनीको अध्यक्षमा पवन गोल्यान रहेका छन् । गत आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार ५ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने ५३ लाख २१ हजार रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २४२ रूपैयाँ ५ पैसा छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीको प्रतिशेयर नेटवर्थ घटेर १७९ रूपैयाा ४५ पैसा कायम भएको छ । कम्पनीले ७५ करोड ३६ लाख ८४ हजार रूपैयाँ विद्युत महशुलबापतको रकम घटाएर नेटवर्थ गणना गरिएकाले घटेको जानकारी दिएको छ ।