शीर्षकहरू

दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने

दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने

काठमाडौं । नेपालमा अबको केही दिन दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै पूर्वबाट भित्रिएको मनसुनी न्यूनचापीय प्रणालीसँगै पश्चिमी न्यूनचापीय प्रणालीको दोहोरो असरले मनसुन अधिक सव्रिmय हुने जानकारी दिएको हो । जसका कारण देशव्यापी रूपमा मध्यमदेखि अति भारीसम्मको वर्षा हुने अवस्था सिर्जना हुँदै छ ।

विभागका अनुसार अहिलेको अवस्थामा मनसुनी न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभागमा केन्द्रित रहेको छ । बुधबार रातिबाट त्यो रेखा अझ नेपालनजिक सरेको छ । त्यस्तै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने प्रव्रिmया सुरु भएको छ ।

विभागले भनेको छ, “यी दुवै प्रणालीहरूको प्रभावले बुधबारदेखि आउँदो शनिबार बिहानसम्म नेपालमा मनसुन थप सव्रिmय हुने सम्भावना भएकाले सतर्कता अपनाउनुपर्ने छ ।” यस अवधिमा देशभर साधारणतयादेखि
पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अविरल वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा तथा कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्भावित मध्यमदेखि अति भारी वर्षाका कारण बुधबार रातिदेखि २९ गते शनिबारसम्म देशका विभिन्न स्थानमा भू–क्षय, पहिरो तथा गेग्य्रान बहाव, बाढीको उच्च जोखिम बढेकाले आमनागरिक तथा सरोकारवाला निकायलाई सचेत र सतर्कताका साथ पूर्वतयारीमा लाग्न भनिएको छ । काठमाडौँ उपत्यकालगायत सहरी तथा तराई क्षेत्रहरूमा डुबानको उच्च जोखिम रहेको छ भने ठुला तथा साना नदी नाला र खोलाहरूमा बाढी
आउने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना औँल्याइएको छ ।