शीर्षकहरू

रिलायन्स मिल्सको चौथो त्रैमासको मुनाफा राम्रो छ, आगामी आवदेखि अझै राम्रो हुन्छ : अग्रवाल

रिलायन्स मिल्सको चौथो त्रैमासको मुनाफा राम्रो छ, आगामी आवदेखि अझै राम्रो हुन्छ : अग्रवाल

काठमाडौं । बुक बिल्डिङबाट सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको रिलायन्स स्पिनिङ मिल्सको मुनाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार मुनाफामा ९७.१३ प्रतिशत गिरावट आएको छ ।

रिपोर्टअनुसार कम्पनीले यस वर्ष ९ महिनामा २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

ईटहरी–१२, सुनसरीमा स्थापित रिलायन्स स्पिनिङ मिल्सले छिटै सर्वसाधारणमा असार २७ गतेदेखि १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गर्दैछ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई ७५ करोड रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ । एकातर्फ कम्पनीको मुनाफामा भारी गिरावट आएको र अर्कोतर्फ दायित्व लुकाएको भन्दै यतिबेला कम्पनीको आलोचना भइरहेको छ । यिनै विषयमा आर्थिकन्युजका लागि कम्पनीका सञ्चालक शशिकान्त अग्रवाल सँग गरिएको कुराकानीको सारांश :

विगत वर्षहरूभन्दा यस वर्ष मुनाफा घटेको हो । यद्यपि चार–पाँच वर्षको इतिहास हेर्दा नेपालमा जति पनि उत्पादनमा आधारित कम्पनी र स्टक एक्सचेन्जमा कारोबार भइरहेका कम्पनीको तुलनामा सबैभन्दा राम्रो क्वाटर्ली रिपोर्ट राम्रो छ । यसका विभिन्न कारणहरू छन् । यसको एउटा कारण अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी आयो । धागोको व्यापार घट्यो । नेपालमा पनि कोभिडपछि जुन मन्दी आयो, त्यसले पनि प्रभाव पार्‍यो । माग नभएपछि मूल्य पनि घट्छ र प्रतिस्पर्धा हुन्छ । चार पाँच अन्य उद्योग पनि भएकाले बजारमा बिक्री पनि घट्ने अवस्था आउँछ ।  एकातर्फ मूल्य घट्यो भने अर्कोतर्फ माग पनि काम भयो ।

हामी टर्कीमा निर्यात गर्दै आएका छौँ । आर्थिक मन्दीका कारण त्यता पनि मूल्य घट्यो । अर्को समस्या १५ देखि २० दिन बिजुली काटियो । प्रतिस्पर्धा उच्च भएकाले ९५ प्रतिशत क्षमतामा उद्योग चलाउन नसके बजारमा हस्तक्षेप गर्न सकिन्न । बिजुली काटिँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योगमा पर्‍यो । मुनाफामा ह्रास आयो । कुनै खास कारणले नेपालमा यस्तो घटना हुन्छ । यो भनेको सधैँका लागि होइन । तेस्रो त्रैमासिक भन्दा चौथो त्रैमासिकको रिपोर्ट धेरै राम्रो आउनेवाला छ । जुन रिपोर्ट सार्वजनिक हुन केही समय लाग्छ । अवस्था सुध्रिसकेकाले चौथो त्रैमासिकमा राम्रो हुन्छ र आगामी आर्थिक वर्षबाट राम्रो हुँदै जान्छ । त्यसैले कम्पनीमा खासै समस्या छैन । हामीले पूरा विश्लेषण गरेर, क्षमतावान लगानीकर्ताले नेपालमा अध्ययन गरेर यो कम्पनी सुरु गरिएको हो । त्यसैले यसमा किन्तु परन्तु हुनुपर्ने केही छैन । राम्रो कम्पनी हो ।

केही लगानीकर्ताले प्रिमियर मूल्यमा शेयर जारी किन गर्न लागेको फेस मूल्यमै पाउनुपर्छ भन्ने कुरा गरेका छन् । तर  यति पुरानको कम्पनी जसलाई सिचेर मेहेनत गरेर यहाँसम्म ल्यायो त्यसलाई फेस भ्यालुमा किन निकाल्छ? अर्को वर्ष अब हामी होटलको तयारी पनि गर्दैछौँ । हामीले उक्त मूल्य निर्धारणका लागि पनि लामो समय लगाएका छौँ । विभिन्न बैंकर्सहरूसँग, चार्टड अकाउन्टेटसँग र बाहिरबाट विज्ञ हायर गरेर स्टान्डर्ड शूत्रअनुसार यो निर्धारण गरेका हौ। हामीलाई यसका लागि करिब एक वर्ष समय लागेको छ । हरेक पब्लिकले अहिले पनि निर्धारित रकम भन्दा १० प्रतिशत फ्रिमा पाउँदैछ । विज्ञले त ९१२ कायम गरेका छन् । सर्वसाधारणले त ८०० हाराहारीमा पाउँदैछन् । त्यसकारण यसमा कुनै विवाद छैन । अध्ययन गरेरै लगानीकर्ताले ९१२ मा लगेको छ भने अहिले त धेरै सस्तोमा सर्वसाधारणले यसको शेयर पाउन लागेका हुन् ।

अर्को न्यूनतम १० कित्ता शेयर किन्न पाउनुपर्ने माग पनि छ । तर यो हामीले निर्धारण गरेको होइन । स्टिममको नियम हो । हामीले पनि न्यूनतम कित्ताका लागि माग गरेका थियौँ । न्यूनतम ५० कित्ताभन्दा कम गर्न नमिल्ने नियममै रहेछ । ५० कित्ताभन्दा कम आवेदन दिन नपाउने सेबनकै नियम रहेछ ।

आईपीओ जारी गरेर हामीले केमा लगानी गर्दैछौँ भन्ने जानकारी पनि गराउनुपर्दा हामी १२ मेगावाट बराबरको सोलार प्लान्ट राख्दैछौँ । विद्युतको समस्या पनि चाँडै समाधान हुन्छ । थप जग्गा भाडामा लिएर सी प्लान्ट बनाउँदैछौँ । यसका लागि लगानी जुटाउन लागेका हौँ ।

ऋणको बारेमा बताउनुपर्दा चाहिँ लकडाउन तथा नाकाबन्दीका कारण हामीले धेरै समस्या भोग्नुपर्‍यो । भारतसँग निर्यातमा पनि समस्या आयो । तैपनि म दाबाका साथ के भन्छु भने हामीले एकदिन पनि ब्याज र साँवा भुक्तानीमा ढिलो गरेका छैनौँ । त्यसैले पनि यो लगानीका लागि सुरक्षित कम्पनी हो ।