शीर्षकहरू

यी हुन्, सर्वाधिक अमेरिकी सहायता पाउने १० देश

यी हुन्, सर्वाधिक अमेरिकी सहायता पाउने १० देश

एजेन्सी । हरेक वर्ष अमेरिकाले विश्वमा स्थिरता, राष्ट्रिय सुरक्षा र आफ्नो आर्थिक स्वार्थ पूर्तिका लागि अर्बौँ डलर खर्च गर्ने गर्छ । यसरी अमेरिकाले गर्ने खर्च मध्ये सर्वाधिक धेरै रकम लिने मुलुकहरू कुन कुन होलान् भन्ने चासो धेरैलाई लाग्छ ।

अमेरिकाले हाल जारी इजरायल र हमास बिचको युद्धमा इजरायललाई विश्वभरबाट मानवताबिरोधी आक्रमण गरेको भन्दै आरोप लागिरहे पनि आर्थिक सहयोग गर्न छाडेको छैन । उता, युक्रेन त झन् पुरापुर अमेरिकाको खर्चमा नै रुससँग युद्ध लडिरहेको छ ।

यहाँ, सन् २०२२ मा अमेरिकाले सहायताको नाममा सबैभन्दा धेरै पैसा दिएका मुलुकहरू कुन कुन हुन् र उनीहरूले कति रकम प्राप्त गरे भन्नेबारे चर्चा गरिएको छ ।

अमेरिकाबाट सर्वाधिक बढी नगद र जिन्सी सहयोग लिने मुलुकको पहिलो नम्बरमा युक्रेन नै रहेको छ । सो मुलुकले सन् २०२२ मा मात्र अमेरिकाबाट ११ अर्ब २ करोड डलर सहायता प्राप्त गरेको अमेरिकाको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट फरेनएसिस्टेन्स डट जीओभीमा उल्लेख गरिएको छ ।

युक्रेनले सो वर्ष प्राप्त गरेको सहयोग अघिल्लो वर्षको तुलनामा निकै नै बढी हो । सन् २०२१ मा अमेरिकाले युक्रेनलाई ४१९ मिलियन अर्थात् ४१ करोड  ९० लाख अमेरिकी डलर मात्र आर्थिक सहायता दिएको थियो । तर, रुसले फेब्रवरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि त्यस्तो सहयोग ह्वात्तै बढाएको हो ।

सन् २०२३ मा अमेरिकाले कुल कति आर्थिक सहयोग युक्रेनलाई गर्‍यो भन्ने आधिकारिक रुपमा सार्वजनिक भएको त छैन तरपनि अघिल्लो वर्ष भन्दा बढेर जम्मा १६.७ अर्ब डलर नगद र जिन्सीका रुपमा युक्रेनले अमेरिकाबाट प्राप्त गरेको विश्वास गरिएको छ ।

यस्तो सहायता प्राप्त गर्ने दोस्रो मुलुक हो, इजरायल । इजरायलले सन् २०१९ देखी लगातार रुपमा सन् २०२२ सम्म हरेक वर्ष ३.३ अर्ब डलर सहयोग गर्दै आएको देखिन्छ । तर, सन् २०२३ र २४ मा भने यो निकै नै माथि पुगेको छ किनकि अमेरिकाले हमाससँग युद्धमा होमिएको इजरायललाई निकै ठूलो आर्थिक सहयोग गरिरहेको छ ।

सार्वजनिक विवरण अनुसार तेस्रोमा अफगानिस्तान १.९ अर्ब डलर, चौथो इथियोपिया १.७ अर्ब डलर र पाँचौँ इजिप्ट १.४ अर्ब डलर रहेका छन् । त्यसैगरी छैटौँमा यमन १.३ अर्ब डलर, सातौँ जोर्डन १.१ अर्ब डलर र आठौँ दक्षिण सुडान ९७ करोड ६० लाख डलर रहेका छन् । नवौँ नाइजेरिया ९७ करोड ४० लाख र दशौँ बढी सहायता प्राप्त गर्ने मुलुकमा ८४ करोड २० लाख डलर सहित सिरिया रहेको छ ।