शीर्षकहरू

एलन मस्कले होल्ड गरे भारतमा टेस्लाको प्लान्ट लगाउने योजना, यस्तो छ कारण

एलन मस्कले होल्ड गरे भारतमा टेस्लाको प्लान्ट लगाउने योजना, यस्तो छ कारण

एजेन्सी । नयाँ दिल्ली पुग्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने योजना पहिले नै खारेज गरिसकेका टेस्लाका मालिक एलन मस्कले भारतमा टेस्ला उत्पादन गर्न प्लान्ट लगाउने योजना समेत हाललाई स्थगित गरेका छन् । ब्लुमबर्गले आफ्नो रिपोर्टमा मस्कको टेस्लाले विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र भारतमा आफ्नो विस्तार योजनालाई रोकेको उल्लेख गरेको छ।

समाचारमा जनाइए अनुसार मस्कले त्यहाँको योजनाबद्ध भ्रमण रद्द गरेपछि टेस्लाका कार्यकारीहरूले नयाँ दिल्लीसँग कुनै थप सोधपुछ गरेका छैनन्। उनको भ्रमण योजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने र ठूलो लगानीको घोषणा गर्ने तयारी थियो। सन् २०२४ का ६ महिनामा मात्रै ३० अर्ब डलर भन्दा बढी सम्पति गुमाइसकेका एलन मस्क अहिले लगानीका लागि पुँजीको समस्यामा रहेको समाचार हालै सार्वजनिक भएको थियो ।

फोर्ब्सका अनुसार अहिले विश्वका सर्वाधिक धनी व्यक्तिका रुपमा रहेका भएपनि गएको जनवरीमा २५१ अर्ब डलर रहेको उनको सम्पति अहिले २२१ अर्ब डलर मात्र छ ।   ब्लूमबर्गले  भारत सरकारले पनि टेस्लाले पुँजी समस्याहरूको सामना गरिरहेको बुझेको र नयाँ लगानी गर्ने वाचा आउने छैन भन्ने कुरा बुझेकाले पनि हाललाई मोदी-मस्क भेट र टेस्लाको प्लान्ट दुवै स्थगित भएको निष्कर्ष निकालेको छ ।

टेस्लाका सवारी साधनको बिक्रीमा लगातार दोस्रो त्रैमासिक गिरावट आएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा यस्तो खबर आएको हो। कम्पनीले गएको तीन महिनामा विश्वव्यापी रूपमा ४ लाख ४३ हजार ९५६ वटा सवारी साधनहरू बिक्री गरेको छ । यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा ४.७ प्रतिशतले कम हो ।

गत वर्ष भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा मोदीले मस्कलाई भेटेर भारतीय बजारमा लगानी गर्न प्रोत्साहित गरेका थिए । मस्कले "आफू र टेस्ला सकेसम्म चाँडो" भारतमा प्रवेश गर्ने बचन दिएका थिए । उनले त्यो बेला करका दर पनि बढी भएको गुनासो मोदी समक्ष गरेका थिए ।

त्यसपछि, यस वर्षको सुरुमा नयाँ दिल्लीले विदेशी इभी निर्माताहरूलाई आकर्षित गर्न नयाँ नीतिलाई अनुमोदन गर्‍यो। नयाँ नीति अनुसार न्यूनतम ५०० मिलियन डलरको लगानीमा निर्माण इकाई स्थापना गर्ने कम्पनीहरूलाई आयात शुल्क छुट दिइन्छ । यसअघि ४० हजार डलरभन्दा बढी मूल्यका कारमा १००% भन्सार शुल्क लाग्ने गरेको थियो भने ४० हजार  डलरभन्दा मुनिका कारमा ७० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो।

यो नीतिगत परिवर्तन पछि एलन मस्कले भारतमा टेस्ला, स्टारलिंक र स्पेसएक्सको प्रवेश गराउने अपेक्षा गरिएको थियो । तर, उनी भारत गएनन्, चीन पुगे ।

 चीन अमेरिका पछि टेस्लाको सबैभन्दा ठूलो बजार हो। सन् २०२३ मा यो कम्पनीको ३३ प्रतिशत कार चीनमा बिक्री भएका थिए । भारतमा इभी क्षेत्रमा टाटा मोटर्सको प्रभुत्व छ। टाटाले आफ्ना धेरै लोकप्रिय मोडलहरूको इलेक्ट्रिक भेरियन्टहरू सार्वजनिक गरिसकेको छ। यद्यपि, सन् २०२३ मा भारतमा बिक्री भएका कारहरू मध्ये इभीको हिस्सा २% मात्रै रहेकोले त्यहाँ बजार खालि नै छ भन्न सकिन्छ ।