शीर्षकहरू

बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्न गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्न गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि बंगलादेश गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल स्वदेश फर्केको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको १८ सदस्यीय उक्त प्रतिनिधिमण्डल आज आइतबार फर्किएको हो । 

बंगलादेशमा रहँदा सयभन्दा बढी ट्राभल, टूर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रूपमा नेपालको प्रचारप्रसार गरिएको थियो । होटल संघ नेपाल, नेपाल पर्यटन बोर्ड तथा नेपाली दूतावास बंगलादेशको संयुक्त आयोजनामा भएको हो । 

उक्त कार्यक्रममा नेपालमा बढ्दै गएको बंगलादेशी पर्यटकहरूको सङ्ख्या बढाउन तथा बंगाली पर्यटकहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्ने उपायहरू बारे व्यापक छलफल भएको थियो । समारोहमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले दुई छिमेकी मुलुकबिच पर्यटन प्रवर्द्धनको व्यापक सम्भावना भएको सो कार्यक्रम फलदायी तथा समसामयिक रहेको बताएका थिए ।

समारोहमा स्वागत मन्तव्य दिँदै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बंगलादेशी पर्यटकहरू बिदा मनाउनका साथै कर्पोरेट गतिविधि, माइस, डेस्टिनेसन वेडिङ, हनिमुन टूरको माग बढ्दै गएको हुँदा खासगरी यी विषयमा जानकारी तथा प्याकेज सार्वजनिक गर्न सो कार्यक्रम फलदायी रहेको बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले उपयुक्त पर्यटन गन्तव्यको रूपमा बंगलादेशीहरुलाई नेपालमा रहेको आकर्षण तथा पर्यटकीय गतिविधिहरूबारे सचित्र विस्तृत प्रस्तुतीकरण गरेका थिए ।