शीर्षकहरू

यात्रामा हुनुहुन्छ ? बाढी र पहिरोले देशभर यी ठाउँमा छ सडक अवरुद्ध

यात्रामा हुनुहुन्छ ? बाढी र पहिरोले देशभर यी ठाउँमा छ सडक अवरुद्ध

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति हुनुका साथै बाढी र पहिरोले सडक पूर्वाधारमा क्षति पुर्‍याउँदा यातायात प्रभावित भएको छ ।

शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिनेजिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवको भनाइ छ ।

यस्तै, करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ । 

मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । 

यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट पनि हवाई उडान हुन सकेको छैन । उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।

पहिरो खसेपछि कर्णाली राजमार्गको कालिकोट सडकखण्ड बन्द भएको छ । कालिकोटको हुल्म बजार, गगनेखोला, झाम्लाखोलालगायत ठाउँमा पहिराले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट सल्यानमा अवरुद्ध छ । ग्रामीण क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भिर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायत ठाउँमा पहिरोले जोखिम बढेको छ ।

त्यस्तै रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । 

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । 

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका  सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन सकेका छैनन् ।

बाजुरको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।

साँफे–मार्तडी राजमार्ग पनि अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । 

यसैगरी पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो । 
    
वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो । बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।