शीर्षकहरू

करिब ६ प्रतिशतले बढ्यो बीमाशुल्क संकलन

करिब ६ प्रतिशतले बढ्यो बीमाशुल्क संकलन

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको बीमाशुल्क करिब ६ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्दा एक वर्षको अवधिमा जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको आम्दानी ५.९६ प्रतिशतले बढेको देखिएको हो ।

प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात ११ महिनामा एक खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस्तो शुल्त गत आवको सोहि अवधिमा एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ रहेको थियो । 

जीवन बीमालेखको संख्या पनि बढेको छ । गत आवको जेठ मसान्तसम्म एक करोड ४० लाख ६९ हजार ९३७ बीमालेख जारी गरेका जीवन बीमा कम्पनीहरुले यस आवको सोहि अवधिमा एक करोड ४० लाख ८९ हजार ६२२ बीमालेख जारी गरेका छन् । निर्जिवन बीमालेखको संख्या पनि यस अवधिमा २७ लाख १३ हजार ७१ पुगेको छ ।  

जीवन बीमा कम्पनीहरुको मात्रै हेर्ने हो भने बीमाशुल्क संकलन ७.४० प्रतिशतले बढेको छ । चालू आवको ११ महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोहि अवधिमा एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख बराबरको बीमाशुल्क संकलन गरेका थिए । 

त्यस्तै, गत आवको जेठ मसान्तसम्म ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका निर्जिवन बीमा कम्पनीहरुले चालू आवको सोहि अवधिमा ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १.०२ प्रतिशतले बढि हो ।  

देशभर बीमा कम्पनीहरुका २ हजार ९७२ कार्यालयहरु रहेका छन् । जसमा ११ हजार ६७४ जना कर्मचारी कार्यारत रहेका छन् ।