शीर्षकहरू

भुक्तानी ढिलो भएकोमा डीडीसीले किसानसँग माफी माग्यो, खपत बढाइदिन उपभोक्तालाई आग्रह

भुक्तानी ढिलो भएकोमा डीडीसीले किसानसँग माफी माग्यो, खपत बढाइदिन उपभोक्तालाई आग्रह

काठमाडौं ।  दुग्ध विकास संस्थान (डीडीसी) पछिल्लो समयमा नाफामा छ । तर पनि किसानलाई भुक्तानी गरेको छैन । किसानले साढे २ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी पाउन बाँकी छ । तर, डीडीसी भने किसानलाई भुक्तानी नदिई कर्मचारीलाई भत्ता बाँडिरहेको छ ।

डीडीसीले २०८० मंसिर २२ गते अवस्था सहज नभएसम्मका लागि कर्मचारीलाई भत्ता नबाँड्ने निर्णय गरेकोमा केही समयअघि उक्त निर्णय उल्टाउँदै पुन: भत्तँ बाँड्ने विवादास्पद निर्णय नै गर्‍यो । यसरी कर्मचारीलाई भत्ता बाँड्ने निर्णय गर्ने डीडीसीले किसानलाई भने 'पैसा छैन, घिउ लैजाउ' जस्ता गैरजिम्मेवारपूर्ण जवाफ दिँदै आएको थियो ।

करिब एक वर्षदेखि किसानलाई भुक्तानी नदिएको डीडीसीले आन्दोलनरत किसानसँग माफी मागेको छ । भुक्तानी नपाएपछि किसानहरू निरन्तर आन्दोलनमा छन् भने डीडीसी घेराउसम्मका आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

आइतबार एक सूचना जारी गर्दै डीडीसीले हाल संस्थानमा एक अर्ब पचास करोड रुपैयाँ बराबरको धूलो दुध र मक्खन मौज्दात रहेको बताएको छ । सूचनामा भनिएको छ, 'समयको विभिन्न कालखण्डमा दूग्ध क्षेत्रमा देखिएका प्रतिकूल परिस्थितिमा स्थानीय स्तरमा उत्पादित कच्चा दूधको व्यवस्थापन गरेको झैं गत वर्ष बजार माग भन्दा धेरै गुणा बढी सङ्कलित कच्चा दूधलाई व्यवस्थापन गर्दा संस्थानमा हाल एक अर्ब पचास करोड रुपैंया बराबरको धुलो दुध र मक्खन मौज्दात रहेको, दूग्ध पदार्थहरू भण्डारण गर्दा संस्थानको  खर्च बढिरहेको कारण किसानलाई गर्नुपर्ने भुक्तानीमा धेरै ढिलो भई कृषक परिवारमा परेको असहजता प्रति संस्थान क्षमाप्रार्थी छ ।'

डीडीसीले सरकारबाट ऋण लिएर तथा मौज्दात दूग्ध पदार्थको बिक्रीबाट कृषक भुक्तानीलाई सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई समेत सधैँ झै भै व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गरेको छ ।

बजार खपत बढाई कृषक भुक्तानी नियमित बनाउन छुट दिई धुलो दुध र मक्खन प्रति केजी क्रमशः रु। ६०० र ८०० (मूल्य अभिवृद्धि करसहित)मा बिक्री गरिरहेको पनि डीडीसीले बताएको छ । संस्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर आदिको खपत बढाइदिन आम उपभोक्तामा धूलो दुध, क्रिम, मक्खन, घ्यु आदिको माग गरिदिन पनि संस्थानले उद्योगी व्यापारीलाई आग्रह गरेको छ ।