शीर्षकहरू

११ महिनामा १२ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी ‘सरेन्डर’

११ महिनामा १२ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी ‘सरेन्डर’

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ११ महिनामा झण्डै १२ अर्ब रुपैयाँ बराबरको एक लाख वटा जीवन पोलिसी सरेन्डर भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार समिक्षा अवधीमा ९८ हजार १३६ वटा जीवन बीमा पोलिसी सरेन्डर भएका छन् । सो संख्याका बीमितले आफ्नो पोलिसी बन्द गराएर पैसा लगेका हुन् । रकमका आधारमा यस अवधीमा ११ अर्ब ९१ करोड ६५ लाख रुपियाँ बराबरको  पोलिसी सरेन्डर भएको छ । अर्थात्, बीमा पोलिसी बन्द गरेका बीमितले उक्त रकम फिर्ता पाएका हुन् । त्यसमा बीमितले तिरेको शुल्क र आर्जित बोनस रहेको हुन्छ ।

हाल नेपालमा १४ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीमा सो बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । रकमका आधारमा कम्पनीहरुको कुल व्यवसायको ९ प्रतिशतको अनुपातमा पोलिसी सरेन्डर भएको देखिन्छ । समिक्षा अवधीमा १४ जीवन बीमा कम्पनीले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, त्यसको ८.९१ प्रतिशत (११ अर्ब ९१ करोड रुपैयाँ) को अनुपात पोलिसी सरेन्डर भएको छ । जेठ महिनामा मात्रै १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ बराबरको १० हजार ९३५ वटा पोलिसी सरेन्डर भएको छ ।

समिक्षा अवधीमा भएको पोलिसी सरेन्डर संख्याको आधारमा गत आवभरको भन्दा पनि धेरै हो । गत आवभरमा ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएको थियो । अहिले त्यो भन्दा बढी अर्थात् ९८ हजार १३६ वटा पोलिसी सरेन्डर भएको छ । गत आवभरमा रकमका आधारमा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । चालु आवको अन्तिमसम्म पुग्दा सो बराबरको पोलिसी सरेन्डर हुन सक्ने अनुमान गरिएको छ ।

बीमितहरुले निश्चित अवधी राखेर जीवन बीमा गरेका हुन्छन् । सामान्यत १०, १५, २० तथा २५ बर्षसम्मको अवधी राखेर बीमा गरिएको हुन्छ । त्यसमा बीमितले बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । ३ बर्षको नियमीत किस्ता तिरेपछि  बीमितले पोलिसी बन्द गराएर पैसा फिर्ता लैजान सक्छन्, जसलाई बीमा क्षेत्रको भाषामा सरेन्डर भनिन्छ । उनीहरुले पाउने रकमलाई भने सरेन्डर भ्यालु अर्थात् समर्पण मूल्य भनिन्छ । बीमितले तिरेको पैसा र समयको आधारमा सरेन्डर भ्यालु निकालीन्छ, जुन बीमितले तिरेको रकम भन्दा सामान्यत बढी हुन्छ ।

पछिल्लो समय आर्थिक शिथिलता कारण पनि पोलिसी सरेन्डर हुने गरेको कम्पनीहरु बताउँछन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले आम बीमितको क्रय शक्ति कम्जोर भएको छ । त्यसले गर्दा उनीहरुले पोलिसी नविकरण गर्न सकेको छैनन् । साथै, आफ्नो आर्थिक दायित्व पुरा गर्न पोलिसी सरेन्डर गर्ने गरेका छन् ।

समिक्षा अवधीमा नेपाल लाइफमा सबै भन्दा धेरै पोलिसी सरेन्डर भएको छ । नेपाल लाइफ इन्स्योरेन्समा ४ अर्ब १६ करोड २१ लाख ८७ हजार रुपैयाँको २६ हजार ५३९ वटा पोलिसी सरेन्डर भएको छ । दोस्रो नम्बरमा एलआईसी नेपाल रहेको छ, उक्त कम्पनीमा २ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको २० हजार ७५९ वटा पोलिसी सरेन्डर भएको छ । तेस्रो स्थानमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीमा १ अर्ब १ करोड ५२ लाख रुपैयाँ बराबरको ११ हजार ८९१ वटा पोलिसी सरेन्डर भएको छ ।

यसैगरि एसियन लाइफमा ७३ करोड ४३ लाख रुपैयाँ बराबरको ८ हजार ७१९, हिमालयन लाइफमा ६३ करोड १८ लाख रुपैयाँ बराबरको ७ हजार ७५, नेशनल लाइफमा ८७ करोड १५ लाख रुपैयाँ बराबरको  ६ हजार ३०७, सुर्यज्योति लाइफमा ६५ करोड ८ लाख रुपैयाँ बराबरको ४ हजार ८१७, मेट लाइफमा ३७ करोड ८५ लाख रुपैयाँ बराबरको ३ हजार ७१७ र सिटीजन्स लाइफमा १३ करोड ३९ लाख रुपैयाँ बराबरको २ हजार २५८ वटा पोलिसी सरेन्डर भएको छ ।

सानिमा रिलायन्स लाइफमा १८ करोड १३ लाख रुपैयाँ बराबरको १ हजार ६४०, रिलायवल नेपाल लाइफमा ८ करोड ४९ लाख रुपैयाँ बराबरको १ हजार ३८३, आईएमई लाइफमा ११ करोड ८९ लाख रुपैयाँ बराबरको १ हजार ३२९, प्रभु महालक्ष्मी लाइफमा १७ करोड ६४ लाख रुपैयाँ बराबरको १ हजार १०२ र सन नेपाल लाइफमा ५ करोड ६८ लाख बराबर ६०० वटा पोलिसी सरेन्डर भएको छ ।