शीर्षकहरू

सहकारी आन्दोलनमा उप्रेती प्रवृत्ति: नीति ठिक, नियतमा खोट

सहकारी आन्दोलनमा उप्रेती प्रवृत्ति: नीति ठिक, नियतमा खोट

असार १९ गते बुधवार सहकारी सम्बन्धी एउटा समाचार नेपाली सञ्चार माध्यमहरूमा देखियो । विषय थियो– राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पक्राउ । 

त्यसो त अहिले सहकारी सञ्चालकहरू पक्राउ परेको घटना नयाँ र नौलो मानिँदैन । लगभग आम जनमानसमा सहकारी सञ्चालक ‘ठग’हरू हुन् भन्ने मानसिकता नै विकास भइसकेको छ । त्यसैले कुनै सहकारी सञ्चालक पक्राउ परेको कुरालाई खासै महत्वका साथ हेरिँदैन । 

तर, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्ण बहादुर (केबी) उप्रेतीको पक्राउले भने भिन्नै अर्थ राख्छ । यो यस अर्थमा भनिएको हो की उनी लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहेका व्यक्ति हुन् । जसले सहकारीका आधारभूत मूल्यमान्यता नबुझेर भुल गरे भन्ने मान्न सकिँदैन ।  

त्यसैले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको बचतको रकम हिनामिनाको आरोपमा पक्राउ परेका उप्रेतीले कसरी सहकारीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरे र सहकारीका आधारभूत पक्षलाई कुल्चँदै अघि बढे भन्ने विषयको अध्ययनले मात्रै पनि नेपालमा सहकारी समस्याका धेरै कुराहरू प्रष्ट हुन सक्छन् । 

यसै कारण यहाँ केबी उप्रेतीको सहकारी यात्राका उतारचढाव र त्यसबीच उनले गरेका अनेकौँ ‘हर्कत’हरूबारे चर्चा गरिएको छ । सुरुवात गरौँ, उनको सहकारी यात्राको प्रारम्भबाट । 

को हुन् उप्रेती ? 

लामो समयदेखि सहकारी अभियानमा सक्रिय नाम हो, केबी उप्रेती । वि.सं २०१८ सालमा दोलखाको नाम्दुमा जन्मिएका उप्रेती सहकारी अभियानमा क्रियाशील बनेको तीन दशक पुग्न लाग्यो ।   

अस्थिर प्रकृतिका उनी कहिले राजनीतिकर्मी बने त कहिले शिक्षक । २०४८ मा पिपल्स क्याम्पसको स्ववियू सभापति समेत बनेका थिए, उनी । त्यसपछि शिक्षककारुपमा केही समय बिताए । र, शिक्षण पेशा छोडेर सहकारी अभियानमा जोडिए । 

वि.सं २०५५ सालमा उनले  जनता बहुउद्देश्यीय सहकारी संस्था गठन गरे । काठमाडौंको खुलेको यो संस्था त्यसबेला धेरै सदस्यहरू बनाउन सफल सहकारी मध्येको एक थियो । जसमा दुई हजार भन्दा बढी सदस्य बनेका थिए । यसरी ठूलो सङ्ख्यामा सदस्यहरू बनाउन सफल उनी त्यसैबाट हौसिए । र, काठमाडौं जिल्ला सहकारी संघ हुँदै देशभर सहकारी अभियानलाई सक्रिय बनाउन भनेर लागे । 

राष्ट्रिय सहकारी महासंघमा लेखा संयोजक भएर दुई कार्यकाल काम  पनि गरे । राष्ट्रिय सहकारी बैंक लिमिटेडमा प्रबन्ध सञ्चालकको जिम्मेवारी पनि उनले यसबीच बहन गरे । बैंक स्थापना गर्न योगदान पुर्‍याएका उनी २०७५ सालमा बैंकको केन्द्रीय अध्यक्ष बने । 

राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय ‘एक्स्पोजर’ समेत भएमा व्यक्ति हुन्, उप्रेती । एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकास सञ्जाल एनईडीएसीको वरिष्ठ उपाध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन्, उनले । वि.सं २०७९ सालमा उनलाई नेकपा एमालेले पार्टीको सहकारी तथा गरिबी निवारण विभाग सचिव बनायो । उनी सहकारी सुधार कार्यदलको सदस्यसमेत बने ।   

सहकारीमा मनपरी 

राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा सहकारीको आधारभूत मर्म बुझेका व्यक्तिकारुपमा उनले आफैले सञ्चालन गरेका सहकारीमा भने मनपरी गरे । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष रहेका बेला उनले बचतकर्ताको रकम हिनामिना गरेको आरोप उनीमाथि लाग्यो । तर, उनी त्यसलाई समाधान गर्ने नभई ढाकछोप गर्न अग्रसर रहे ।  

सगरमाथा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेको थिएन । बचत फिर्ताको माग गर्दै २०७९ सालमै सहकारी विभागमा बचतकर्ताहरूले उजुरी दिएका थिए । तर, त्यो उजुरी अध्यक्ष उप्रेतीले फिर्ता गर्न लगाए । अनेकौँ आश्वासन दिएर ।  जबकी उनका आश्वासनहरु कुनै पनि पुरा नभएको त्यसबेलाका पीडितहरू बताउँछन् । 

सगरमाथा सहकारी आफै समस्यामा थियो । त्यसले भोगिरहेका समस्या समाधान गर्न गाह्रो पनि थिएन । तर, कुरा बढी काम काम कम गर्न माहिर उप्रेतीले वि.सं २०८० साल असारमा अन्य पाँच सहकारीसमेत त्यसमा ल्याएर मर्ज गरे । 

यसरी मर्ज हुने संस्थाहरूमा सगरमाथा बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी,  तपाइ हाम्रो बहुउद्देश्यीय सहकारी, घदुङ बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी थिए । मर्जपछि उनले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाम दिए । र, त्यसमा पनि आफू नै अध्यक्ष बसे । 

पहिले नै समस्यामा रहेका सहकारीहरू एक ठाउँमा जोडिएपछि समस्याको आकार झन् बढ्यो । छुट्टै रहँदा जति सहज ढंगले समस्या समाधान गर्न सकिन्थ्यो त्यो असम्भव बन्दै गयो । मर्जपछि सहकारीहरूका समस्या सुल्झिएन । थप बढ्दै गयो । 

उप्रेती अध्यक्ष रहेको यस सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप फेरि लाग्यो । दुई अर्ब बचत फिर्ताको माग गर्दै उनको सहकारीका बचतकर्ताले सहकारी विभागमा उजुरी हाले ।  त्यसपछि उप्रेती एकाएक उपचारका लागि भारत जान्छु भन्दै सम्पर्कविहीन भए । 

उनी बेपत्ता भए पनि नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवको जिम्मेवारीबाट हटायो । लामो समयसम्म उनी उतै लुकेर बसे । तर, नेपाली सञ्चार माध्यमहरूमा उनी बिरामीको बाहानामा भारतमा लुकेर बसेको समाचार लगाताररुपमा आइरह्यो । यता सरकारले सहकारीहरूमा भएका आर्थिक अपचलनबारे छानविन गर्न संसदीय समेत गठन गर्‍यो । आवश्यक पर्दा सरकारी पहल कदमी मार्फत उतै पक्राउ परेर नेपाल ल्याइन सक्ने परिस्थिति विकास हुँदै गएपछि उनी नेपाल फर्किए । 

नेपाल फर्किएपछि उनले सार्वजनिकरुपमा आफूलाई सही साबित गर्ने प्रयत्न समेत गरे । भारतमा भएको आफ्नो लामो समयको बसाइलाई उपचारकै क्रममा बिताएको जिकिर गर्दै उनले आफूमाथि लागेका आरोप पार्टी भित्रको गुटगत समस्याका कारण सिर्जना भएको समेत भन्न भ्याए । सहकारीहरूमै लेखा सुपरिवेक्षण र स्वनियमनको समस्या रहेको भन्दै प्राविधिक समस्याबारे समेत बोल्न भ्याए । 

तर, उनको त्यो प्रयास सफल भएन । अन्ततः उनी बुधवार बचतको रकम हिनामिना गरेको आरोपमा पक्राउ परे ।     

उप्रेती प्रकरणले उजागर गरेका कुरा  

उप्रेती पक्राउ परेपछि नेपालका सहकारीहरू अन्य विषयले भन्दा पनि सञ्चालकहरूका बदनियत पूर्ण कार्यका कारण नै समस्यामा परेका हुन् भन्ने देखिएको छ । विगतमा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेको विषय होस् या हालै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारी प्रहरीको कब्जामा परेको विषय होस् । 

यी सबैमा सहकारीका प्रमुख सञ्चालकले नै रकम हिनामिना, अपचलन र मनोमानी गरेका कारण ठूला स्थापित सहकारी समेत समस्यामा परेको पुष्टि भएको छ । यसअघि ओरियन्टललगायतका सहकारीका सञ्चालकहरूले पनि गरेको त्यही हो । जिवी राई प्रकरणमा त झन् गर्न मिल्ने नमिल्ने सबै काम मुख्य सञ्चालकहरूले गरेको देखिएको अवस्था छ । 

यसरी हेर्दा सहकारी नबुझेका व्यक्तिले मात्र नभई सहकारीलाई बुझेका र कसरी मनमौजी ढंगले चलाउन सकिन्छ भन्ने विषयमै विज्ञता हासिल गरेका उप्रेती जस्तै व्यक्तिहरूले नेपाली सहकारी आन्दोलनलाई धराशायी बनाएका हुन् । यसले नेपाली समाजमा प्रचलित ‘जो अगुवा, उही....’ भन्ने उखान स्मरण गराउँछ । किनकि यस्तै छद्मभेषी सहकारी अभियान्ताहरुले नेपाली अर्थतन्त्रको एक महत्त्वपूर्ण खम्बाकारुपमा स्थापित सहकारी आन्दोलनलाई रसातलमा पुर्‍याएका छन् ।