शीर्षकहरू

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच हरित आवास कर्जासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच हरित आवास कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।  

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।