शीर्षकहरू

२३ सय जनालाई रोजगारी दिनेगरी ११ महिनामा आयो ४४ अर्बको लगानी प्रतिबद्धता

२३ सय जनालाई रोजगारी दिनेगरी ११ महिनामा आयो ४४ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा अर्थात् जेठ मसान्तसम्म औद्यौगिक क्षेत्रमा ४४ अर्ब ३४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये जेठ महिनामा मात्रै ३ अर्ब १५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार उक्त लगानी प्रतिबद्धता दुई हजार ३२३ जनालाई रोजगारी दिनेगरी आएको छ ।

विभागले यस आर्थिक वर्षमा ८० ठूला, ८५ मझौला र २०० साना गरी ३८ अर्ब लगानी भित्र्याउने लक्ष्य राखेको छ । यस आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा ६ अर्ब बढी लगानी प्रतिबद्धता आएको हो ।

ठूला र मझौला उद्योगमा आएको लगानी प्रतिबद्धता संख्या भने लक्ष्यभन्दा न्यून रहेको छ । जेठ मसान्तसम्म ४९ ठूला र ५० मझौला उद्योगका लागि प्रतिबद्धता आएको छ । साना उद्योगका लागि भने २८४ उद्योगका लागि लगानीकर्ताले लगानी प्रतिबद्धता गरेका छन् ।

विभागका अनुसार जेठ महिनामा स्वदेशी र विदेशी गरी ५९ उद्योग दर्ता भएका छन् । जसमध्ये ९ ठूला, १६ मझौला र ३४ साना उद्योग छन् । 

जेठ मसान्तसम्म २ प्याटेन्ट र पाँच हजार ४९४ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।