शीर्षकहरू

रविमाथि प्रश्न उठाएपछि स्पष्टीकरणको मौका समेत नदिई रास्वपा महामन्त्री ढकाल निलम्बित

रविमाथि प्रश्न उठाएपछि स्पष्टीकरणको मौका समेत नदिई रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी अनुशासक विभागको सिफारिसमा पार्टीले महामन्त्री ढकाललाई कारबाही गरेको हो ।

महामन्त्री ढकालले देशभर ३८ जिल्लामा पुगेर ३२ पृष्ठ लामो पार्टी समीक्षा प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा उनले सभापति रविमाथि प्रश्न उठाएका थिए । रास्वापाप्रति जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत बन्न नसक्ने भन्दै उनले प्रश्न उठाएका थिए ।

महामन्त्री ढकाल बुधबारको केन्द्रीय समितिको बैठकमा कालो टेप लगाएर उपस्थित भएका थिए । बैठकमा महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रालयमा हुँदा प्रहरी संगठनको सरुवा बढुवादेखि अन्य काम पारदर्शी ढंगबाट नगरेको आरोपसमेत लगाएका थिए । 

पार्टीको कार्यशैलीमाथि कडा प्रश्न गरिएको उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस भएको थियो । उक्त प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्दै महामन्त्री ढकालको कार्यसम्पादन र कार्यशैलीको कडा आलोचना गरेका थिए । सबैले ढकाललाई कारबाहीको माग गरिरहँदा पार्टीमा एक्लिएपछि बीचमै बैठक छाडेर उनी निस्किएका थिए । उनले बैठकबाट निस्किँदै भनेका थिए, 'गोर्खा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो । एउटै मानक हो । उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिबी राई दोषी, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने आयो । जब पत्रकार हुनुहुन्थ्यो नेता दोषी, जब नेता हुनुहुन्छ पत्रकार दोषी। जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषी ।'

त्यसपछि अनुशासन विभागले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसपछि केन्द्रीय समिति बैठकले ढकाललाई अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो । ढकालले भने आफूलाई स्पष्टीकरणको मौका समेत नदिई कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।

केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्रीको जिम्मा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई दिएको छ ।