शीर्षकहरू

कर्णालीमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ सम्पन्न

कर्णालीमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ सम्पन्न

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजना सम्पन्न  सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली समस्याको पर्याय नभई सम्भावनाको क्षेत्र भएको बताए ।

उनले भने, “कर्णाली खाली कागज हो, जे लेख्न चाह्यो त्यही लेख्न सकिन्छ । यो सबैको आकर्षणको केन्द्र पनि हो । यहाँ भएका सम्भावनाहरुलाई उपयोग गर्न नसक्दा कमजोर जस्तो देखिएका छौँ । अहिलेको यहाँको आन्तरिक आम्दानी पनि रु ६५ करोड मात्र छ ।” राजस्व वृद्धि र प्रदेशको आर्थिक समृद्धि ल्याउन यथेष्ट आधारहरु भएको उनको भनाइ थियो ।

सरकारले लिएको नीति, कार्यक्रम र लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले मुख्यमन्त्री कँडेलले सक्कली व्यवसायीहरुलाई मात्र सरकार नजिक पु(याउन सुझाए। उनका अनुसार श्रमलाई सम्मान गर्ने संस्कृतिबाट मात्र उद्यमशीलता, रोजगारी हुनुका साथै आत्मनिर्भरता बढ्न जान्छ ।

उद्योग वाणिज्य महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका निम्ति सबै दलका नेता एक ठाउँमा आउनुपर्नेमा जोड दिए । नेपाल र त्यसमा पनि कर्णालीमा लगानी र अन्वेषण हुन नसकेको बताउँदै उनले पछिल्लो समयमा रारामा होटेल खोल्न लगानी गरिएको जानकारी दिए । विभिन्न क्षेत्रमा रु ४० अर्ब बराबरको लगानीमा काम भइरहेको उनको भनाइ थियो ।  

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्द रिजालले कर्णालीको १६ लाख ८८ हजार जनसङ्ख्यामध्ये छ लाख १८ हजार आर्थिक क्रियाकलापमा जोडिएको बताए । उनले भने, “३० प्रतिशत महिलाहरु काममा संलग्न छन् । कूल २६ प्रतिशत रोजगारीमा जोडिएका छन् । १३ हजार चार सय २६ जना वैदेशिक रोजगारमा र त्यसमा अधिकांश जनशक्ति खाडी मुलुकमा गएको देखिन्छ ।” 

नबिल बैङ्कका उपप्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावलीले मुलुक निर्माणका लागि आलोचना नभई एकले अर्कोलाई साथ दिने वातावरण तयार गर्नुपर्ने बताए । उद्यमशील युवा, सृजनशील युवा अभियानका संयोजक भूपेन्द्रबहादुर शाहीले युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

उनले भने, “आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जीवनस्तरमा आमूल रुपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौती बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्न व्यापक आर्थिक लगानी र उद्यमशीलता प्रवद्र्धन जरुरी छ । पुँजी निर्माण, रोजगारी सृजना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो ।”

सम्मेलनमा आर्थिक विकास र कर्णालीमा लगानीको सम्भावना, पर्यटन, उद्यमशीलता र रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिका विषयक तीनवटा सत्र सञ्चालन भएको थियो । रासस