शीर्षकहरू

१८ वर्षे मुद्दती खाता खोल्न एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता

१८ वर्षे मुद्दती खाता खोल्न एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र श्रावण १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । 

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ ।

यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ । चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न र कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको कोषले सहयोग पुग्ने विश्वास गरिएको छ ।