शीर्षकहरू

बीमा कम्पनीहरूले पशु बीमाको एक अर्ब अनुदान तत्काल पाउने, थप रकम व्यवस्थापन गर्न अर्थलाई ताकेता

बीमा कम्पनीहरूले पशु बीमाको एक अर्ब अनुदान तत्काल पाउने, थप रकम व्यवस्थापन गर्न अर्थलाई ताकेता

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा पशुपंक्षी बीमाको अनुदान बक्यौता मध्ये तत्काल १ अर्ब ६८ लाख रुपैयाँ पाउने पक्का भएको छ । यस्तो बीमामा सरकारले दिने अनुदानबापत कम्पनीहरूले गत आर्थिक वर्षदेखि कै बक्यौता झन्डै साढे २ अर्ब रुपैयाँ पाउन बाँकी रहेकोमा केही रकम तत्काल पाउने पक्का भएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केही दिन अघि बाली तथा पशु बीमा कोषमा ९७ करोड रुपैयाँ बजेट पठाएको थियो । त्यसमा कोषमै भएको तीन करोड ६८ लाख रुपैयाँ थप गरेर सो बराबरको रकम बीमा कम्पनीहरूलाई भुक्तानी गर्न लागिएको हो ।

मंगलबार कृषि सचिव डा. दीपककुमार खरेलको अध्यक्षतामा बसेको कोष व्यवस्थापन समितिले उक्त रकम बीमा कम्पनीहरूलाई वितरण गर्ने निर्णय गरिसकेको मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । अब एक दुई दिनमै त्यो रकम तोकिएको मात्रामा बीमा कम्पनीहरूको खातामा जाने बताइएको छ । कृषि तथा पशु बीमामा सरकारले दिने अनुदान रकम सोही कोष मार्फत नै भुक्तानी हुने गर्छ ।

मन्त्रालयकी सह सचिव शवनम सिवाकोटी अर्यालले तत्काललाई  एक अर्ब ६८ लाख रुपैयाँ भुक्तानी गर्ने गरि कोषबाट निर्णय भएको जानकारी दिइन् । यद्यपि, माइन्यूटमा हस्ताक्षर हुन भने बाँकी छ । हस्ताक्षर भएपछि उक्त रकम कम्पनीहरूको खातामा जाने उनले बताइन् । उक्त प्रक्रिया पुरा गर्दा कम्तीमा पनि १/२ दिन समय भने लाग्ने देखिन्छ ।

यद्यपि, यो रकम पशु बीमा अनुदानका लागि मात्रै हो । पशुबीमाको अनुदान तर्फ गत आवको माघदेखिकै बक्यौता छ । यो रकमले गत आवको माघदेखि चालु आवको असोजसम्मको बक्यौता तिर्न पुग्ने अनुमान गरिएको छ । त्यस यताको अनुदान रकम भने फेरिपनि भुक्तानी हुन बाँकी नै हुनेछ ।

कृषि बीमा तर्फ पनि गत आवको माघदेखिकै अनुदान बाँकी छ । तर, यसको रकम थौरै भएकाले पशु बीमाको बक्यौतालाई नै पहिलो प्राथमिकतामा राखेको मन्त्रालयको भनाइ छ ।

 थप ८५ करोड रुपैयाँ भुक्तानी गर्ने तयारी

मन्त्रालयले चालु आवमै कृषि तथा पशु बीमाको अनुदान अन्तरगत थप ८५ करोड रुपैयाँ भुक्तानी गर्ने तयारी पनि गरेको छ । यसका लागि अर्थ मन्त्रालयमा बजेट रकमान्तरको प्रस्ताव समेत पेश गरिसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘यो वर्ष यही शीर्षकमा भएको बजेट सकियो । अहिले निकासा गरेको ९७ करोड रुपैयाँ पनि रकमान्तर गरेर नै ल्याएको बजेट हो । त्यसमा कोषमा भएको ३ करोड ६८ लाख रुपैयाँ थप गरेर १ अर्ब ६८ लाख रुपैयाँ भुक्तानी गर्न लागेका छौँ ।’ उनले अगाडी थपे, ‘तर, यो रकमले मात्रै बक्यौता तिर्न पुग्दैन । बक्यौता तिर्नका लागि यही शीर्षकमा पनि बजेट छैन । तसर्थ, थप ८५ करोड रुपैयाँ हाराहारीमा बजेट रकमान्तर गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौँ ।’

कृषि मन्त्रालय रकमान्तरको लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्विकार्नेमा विश्वस्त देखिएको छ । ती अधिकारीले भने  भने, ‘प्रस्ताव स्वीकृत हुने सम्भावना प्रबल छ । हामी विश्वस्त छौँ । त्यो स्वीकृत भएमा बीमा कम्पनीहरूलाई थप रकम भुक्तानी गर्न सकिन्छ ।’ यसपटक कृषि तर्फको झन्डै १५ करोड रुपैयाँ बक्यौता समेत तिर्न पुग्ने गरी रकमान्तर प्रस्ताव गरिएको छ ।

कृषि तथा पशुपंक्षी बीमाको प्रिमियममा किसानले ८० प्रतिशत अनुदान पाउँछन् । सोहीअनुसार बीमा कम्पनीहरूले उनीहरूसँग २० प्रतिशत मात्रै बीमाशुल्क लिएर बीमा गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारबाट शोधभर्ना लिनुपर्छ । तर, त्यस्तो रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्दै आएको थियो ।

त्यसपछि कम्पनीहरूले गत चैत १ गतेदेखि यस्तो बीमाको कारोबार बन्द नै गरेका थिए । पछि जेठ १७ गते मन्त्रालयले तत्काल ९७ करोड रुपैयाँ दिने प्रतिबद्धता गरेपछि कम्पनीहरूले जेठ १८ गतेदेखि नै कारोबार सुरु गरेका थिए । तर, सरकारले भुक्तानी दिएको भने थिएन ।

सरकारले प्रतिबद्धता गरेको एक महिना पछि बीमा कम्पनीहरूले भुक्तानी पाउन लागेका हुन् । तर, चालु आव सकिन  लागेकाले थप भुक्तानी पाउने आशा भने न्यून रहेको कम्पनीहरू बताउँछन् ।