शीर्षकहरू

आधा पनि खर्च भएन पुँजीगत रकम, ठेकदारले रकम नपाएको गुनासो

आधा पनि खर्च भएन पुँजीगत रकम, ठेकदारले रकम नपाएको गुनासो

काठमाडौ । चालु आर्थिक बर्ष २०८०÷८१ सकिन अब दुई साता मात्रै बाँकी छ । तर, आर्थिक बर्ष सकिन लाग्दा पनि सरकारको पुँजीगत खर्च भने लक्ष्यको आधा प्रतिशत पनि पुगेको छैन ।

चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सरकारले पुँजीगत  खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ मात्रै छुट्टाएको थियो । त्यसमा पनि यसको खर्च भने एकदम चिन्ताजनक देखिएको छ । जेठ १७ गतेसम्म आउँदा सरकारले पुँजीगत तर्फ १ खर्ब ४६ अर्ब ७० करोड २९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको ४८.५७ प्रतिशत मात्रै हो ।

पुँजीगत बजेट विकास निर्माणसँग सम्बन्धीत हुन्छ । आर्थिक बर्ष सकिन लाग्दा पनि यस्तो खर्च न्युन हुनुले यो बर्ष विकास निर्माणका काम न्यून भएको संकेत गरेको छ । साथै, काम गरेका निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको पनि संकेत  गरेको छ । 

सुरु मै सही ढंगले बजेट विनियोजन नहुदाँ यस्तो अवस्था आएको भौतिक पुर्वाधार तथा यातायायात मन्त्रालयका अधिकारीहरु बताउँछन् । कतिपय परियोजनामा बजेट छ । तर, त्यसमा काम भएको छैन । कतिपय परियोजनामा काम भइरहेको छ । तर, त्यो परियोजनामा बजेट पर्याप्त छैन । आवश्यता र बास्तविक अवस्थालाई वेवास्ता गरेर जथाभावी बजेट विनियोजन हुदाँ यस्तो अवस्था आएको उनीहरु बताउँछन् । 

यो अवस्थामा एउटा परियोजनाबाट अर्काे परियोजनामा बजेट रकमान्तर गर्ने विकल्प छ । तर, त्योअनुसार अर्थ मन्त्रालयले समयमै बजेट रकमान्तर गरिदिएको छैन । त्यसले गर्दा पुँजीगत खर्च कम्जोर भएको अर्थमन्त्रालय बताउँछ । 

आर्थिक बर्ष अर्थात् असार मसान्त सकिएपछि चालु आवमा खर्च गर्न नसकेको बजेट फ्रिज हुन्छ ।  साउन १ गतेबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ र नयाँ बजेटअनुसार नै सरकारको काम कारवाही अघि बढ्छ । त्योअनुसार असार भित्र तोकिएको कार्यक्रम तथा शिर्षकमा बजेट खर्च हुनु अपरिहार्य हुन्छ । त्यसमा १२ महिना नै सन्तुलित रुपमा बजेट खर्च गर्न सकेमा एकदमै राम्रो मानिन्छ । तर, सरकारले त्यसरी पुँजी खर्च गर्न नसकेको सरकारकै तथ्यांक पुष्टी गरेको छ । 

समिक्षा अवधीमा सरकारको चालु खर्च भने ७७.८७ प्रतिशत पुगी सकेको छ । सरकारले यो बर्ष चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । त्यसमा हालसम्म ८ खर्ब ८९ अर्ब १३ करोड २८ लाख रुपैयाँ खर्च भएको छ । 

वित्तिय व्यवस्था तर्फ भने सरकराले ७४.०४ प्रतिशत बजेट खर्च गरिसकेको छ । यसका लागि सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । त्यसमा हालसम्म २ खर्ब २७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ खर्च भएको  छ । 

समग्रमा समिक्षा अवधीमा सरकारको कुल खर्च ७२.१५ प्रतिशत पुगेको छ । यो बर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तयसमा हालसम्म १२ खर्ब ६३ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । 

सरकारको आम्दानी भने ९ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ मात्रै छ । तर, कर आम्दानी ८ खर्ब ५७ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ रहेको छ । गैर कर आम्दानी भने ९२ अर्ब ९६ करोड १७ लाख रुपैयाँ रहेको छ । सरकारले अनुदान भने २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्रै प्राप्त गरेको छ । अन्य आम्दानी भने २२ अर्ब ८७ करोड ६ लाख रुपैयाँ रहेको छ । तर, सरकारको आम्दानीले खर्च गर्न पुगेको छैन । अपुग रकम सरकारले ऋण मार्फत जुटाएर खर्च गरेको छ ।