शीर्षकहरू

भाइले सम्पत्ति लुटेपछि दम्पती नै वृद्धाश्रममा

भाइले सम्पत्ति लुटेपछि दम्पती नै वृद्धाश्रममा

काठमाडौं । परिवारको कुनै सदस्य सुरक्षा फौजमा छ भने त्यसबाट धेरैले सुरक्षित महसुस गर्ने हाम्रो ग्रामीण समाजमा मानसिकता छ । तर, कुनै आफन्तले नै प्रहरी दस्तामा रहेको अर्को आफन्तको दुरुपयोग गर्छ भने त्यो भन्दा पीडादायी अर्को अवस्था हुँदैन ।

यस्तै पीडाको भारी बोकेर पशुपतिको वृद्धाश्रममा आफ्नो बाँकी जीवन काटिरहेका छन्, ६७ वर्षे रामप्रसाद हुमागाईँ र ७० वर्षे पत्नी बसन्ती हुमागाईँ । उनीहरू आफ्नै भाइले प्रहरीको साहायतामा पैतृक सम्पत्तिका रुपमा प्राप्त अंश खोसेपछि अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिमा बस्दै आएका छन् ।

स्थायी घर बनेपा धुलिखेल भएका हुमागाईँ ९ कक्षा पढ्दापढ्दै भागेर भारत प्रवेश गरेका थिए । भारतमा उनले चिनजानेको कोही पनि थिएन । त्यसैले आश्रममा बसे । लामो समय भारतमा बिताएर उनी नेपाल फर्कँदा उनका बुबाले काठमाडौँमा घर बनाई बसाइसराइ गरिसकेका रहेछन् । रामप्रसाद सहित उनका परिवारमा दुई भाइ, एक दिदी र आमाबुबा गरि ६ जनाको परिवार रहेको थियो । 

उनलाई विवाह गर्ने इच्छा भने थिएन । तर, बसन्तीसँग भएपछि घरजम गरेको रामप्रसाद सुनाउँछन् । भाइको  सालो प्रहरीमा जागिरे थिए । उनकै मद्दत लिएर भाइले  सम्पत्तिका लागि मुद्दा हालेपछि उनले मुद्दा हारे । र, अन्ततः उनले घर छोडी डेरामा बस्नुपर्‍यो।

घर हुँदाहुँदै पनि डेरा बस्नु पर्ने स्थिति आएपछि उनको दम्पतीले आराम गर्ने उमेरमा  हात मुख जोड्ने समस्याको समाधान खोज्दै हिँड्नु प¥यो । तर, वरलाई पिपलको भर भने झैँ रामप्रसादलाई बसन्तीको साथ अनवरत छ ।

अनि पनि सन्तानले हेरेनन् रु मुहारमा उदासीनता तर ओठमा थोरै हाँसो सहित उनले भने, ‘छोराछोरी छैनन्, पिर चिन्ता पनि छैन ।’ आफ्नै जिन्दगीको भर नभएको बेला छोराछोरी भएको भए त झन् के हुन्थ्यो होला १ उनको भनाइमा यस्तै भाव झल्कन्थ्यो।

पति पत्नी मिलेर मयुरको पखं, शंख, माला बेचेर गुजारा चलाउँदै आएका थिए, उनीहरू । परिस्थितले ठगिए पनि इमानदारितामा कहिले चुकेका थिएनन् । उनीहरू महिना पुग्नु अगावै भाडा तिर्ने गर्दथे । उनीहरूको यहीँ गुण सम्झेर पनि होला वृद्धा अवस्थामा गाह्रो हुन सक्छ भन्दै आश्रमसम्म पुर्‍याउन  घरबेटीले नै मद्दत गरे, हुमागाईँ दम्पतीलाई ।

अहिले उनीहरूको दिनचर्या धार्मिक पुस्तक पढ्ने , बत्ती कात्ने , टि।भि हेर्ने गरेर बित्छ । आश्रममा हुमागाईँ दम्पती जस्तै थुप्रै वृद्धावृद्धा रहेका छन् । धुलिखेल पार्वती सापकोटा ९ महिनादेखि आश्रममा बस्दै आएकी छिन् । उनका पनि सन्तान छैनन् । पतिको देहावसान पछि उनलाई बहिनिले आश्रमसम्म ल्याउन सहयोग गरेकी थिइन् ।

ओखलढुङ्गाकी विद्या दाहाल १४ वर्षदेखि यहि आश्रममा बस्दै आएको बताउँछिन् । श्रीमानले सौता थपेपछि माइती घर बस्दै आएकी दाहाललाई माइती पक्षले नै आश्रममा ल्याएका थिए । साहाराविहिनको सहारा बनेको पशुपति वृद्धा आश्रममा अहिले ७० जना वृद्धवृद्धा बस्दै आएका छन् ।