शीर्षकहरू

उदयपुरका सहकारी फरार प्रकरण: हिसाब गर्न भन्दै पासबुक हत्याए, प्रमाण मेटाए !

उदयपुरका सहकारी फरार प्रकरण: हिसाब गर्न भन्दै पासबुक हत्याए, प्रमाण मेटाए !

उदयपुर । सेवाग्राहीको बिचल्ली पारेर भागेका उदयपुरका दुई सहकारीले  बचतकर्ताहरूको पासबुक समेत जफत गरेको पाइएको छ । महिला जनजागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र उदयपुर कृषि सहकारी संस्था लिमिटेडले आफ्ना बचतकर्ताहरुलाई हिसाब ‘ट्याली’ गर्ने भन्दै उनीहरूसँग रहेको प्रमाण समेत कब्जा गरेको खुलासा भएको हो ।

पीडितहरूका अनुसार सहकारी संस्थाको कार्यालय बन्द हुनु अगाडी यस संस्थाका कर्मचारीहरूले बचतकर्ताहरूसँग हिसाब गर्न भन्दै पासबुक मागेर लगेका थिए । हाल फरार रहेका यी दुवै संस्थाका सञ्चालकहरूले बचतकर्ताहरूको बचत रेकर्ड फाइलसमेत सबै लिएर हिँडेको पाइएको हो ।

एक पीडित बचतकर्ताले आर्थिकन्युजसंग भने, ‘बचत संकलन गर्न आउने कर्मचारीले पासबुक लैजान्छु भन्नु भयो । हिसाब गरेर ल्याइदिन्छु भन्दा दिने कुरा भएन ।’ 

पासबुक लगेपछि ती कर्मचारी पुनः फर्केर नआएको उनले जानकारी दिए । उनले भने, ‘पासबुक लगेपछि भने ती महिला कर्मचारी फर्किनन् । उनलाई सम्पर्क गर्दा आफुले काम छोडेको हुँदा अफिसमा सम्पर्क गर्नु भनिन् । अफिस जाँदा ताला लागेको थियो । उक्त ताला हालसम्म खुलेको छैन ।’  

यो पनिः उदयपुरका दुई सहकारी सञ्चालक फरार, घरधनी र बचतकर्ता पीडामा

यी दुवै सहकारीका अध्यक्षहरु सम्पर्कविहीन छन् । पटक पटकको प्रयासपछि महिला जनजागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव तेज बहादुर पाण्डे भने आर्थिकन्युजको सम्पर्कमा आए । सोबारे बुझ्दा उनले बचतकर्ताहरूबाट पासबुक आफुहरुले लिएको स्वीकारे ।

पाण्डेले आर्थिकन्युजसंग भने, ‘सबैको पासबुक हामीले ल्याएको हो । कसको कति रहेछ भनेर हिसाब गर्न ल्याएका हौँ । प्रमाण मेटाउनका लागि होइन । केहीका पासबुक मसँग छन्, बाँकी अध्यक्षज्युसंग होलान् ।’  

उक्त सहकारीका अध्यक्ष विनोद खड्का हाल सोही सहकारीका सचिवसँग पनि सम्पर्कमा छैनन् । उनले नियमित प्रयोग गर्दै आएको फोन नम्बरमा  सम्पर्क गर्दा फोन नै नलाग्ने बनाएका छन् । ‘मेरो अध्यक्षज्यूसँग सम्पर्क नै छैन । फोनमा पनि सम्पर्क हुन सक्दैन । एक पटक प्यासेन्जरमार्फत कुरा भएको थियो । आउँछु भन्नु भएको थियो, उहाँ अहिलेसम्म आउनु भएको छैन’, उनले भने । 

उदयपुर कृषि सहकारीका अध्यक्ष नारायण दाहालसँग पासबुक फिर्ताबारे बुझ्न पटक पटक सम्पर्क गर्दा सम्पर्क भने हुन सकेन । कृषि सहकारीसँग पनि पाण्डेको कनेक्सन रहेकाले उनीसँग सम्पर्क गर्दा उदयपुर कृषि सहकारीको पासबुक फिर्ताबारे ‘हुनसक्छ’ भन्ने अस्पष्ट जवाफ दिएर पन्छिए ।