शीर्षकहरू

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु भयो

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु भयो

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा फेरि धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।  पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।  

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति तीन सदस्यीय सिफारिस समितिमा संयोजक डा मीनबहादुर श्रेष्ठ, सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य छन् । 

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि समितिले निवेदन आह्वान गर्दा १९ जनाले निवेदन दिएको थियो । त्यसमध्ये ५ जनालाई समितिले सर्टलिस्ट गरेको थियो । तर, तीमध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए भने कृष्णबहादुर कार्की, डा नवराज अधिकारी तथा चीरञ्जीवी चापागाईं अनुपस्थित भए ।

तर, ऐनमा कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले सिफारिस समितिले प्रक्रिया नै रद्द गरिदिएको थियो । नियोजित रुपमा एक जनालाई अध्यक्ष नियुक्त गर्ने योजना अनुसार प्रक्रिया बढाएपछि तीन जनाले प्रक्रियाको विरोध गर्दै सहभागीता जनाएनन् ।