शीर्षकहरू

यति एयरलाइन्स एटीआर दुर्घटनाविरुद्ध मुद्दा दायर, मापदण्डविपरीत अवतरण गर्न दिँदा दुर्घटना

यति एयरलाइन्स एटीआर दुर्घटनाविरुद्ध मुद्दा दायर, मापदण्डविपरीत अवतरण गर्न दिँदा दुर्घटना

काठमाडौं । यति एयरलाइन्स विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ८० करोडको मागदावीसहित मुद्दा दायर भएको छ । सो एयरलाइन्सले लापरवाहीपूर्ण उडान गरेको कारण भएको दुर्घटनामा आफ्ना परिवारका सदस्यहरुको मृत्यु भएको भन्दै सोमबार मदनकाजी श्रेष्ठ र भिममाया श्रेष्ठले दुष्कृति जन्य मृत्युको क्षतिपूर्ति मुद्दा दायर गरेका हुन् ।

विस २०७९ माघ १ गते आफ्नो एकाघरका तीन सदस्यहरु छोरा डा शुशिल श्रेष्ठ, बुहारी  डा सोना दिवाकर र १० महिनाका बालक नातीसमेतको ज्यान जाने गरी हेरचक्याइँयुक्त र लापरवाहिपूर्ण तरिकाले यति एयर्लाइन्सले उडान गरेका कारण दुर्घटना भएको उनीहरुको दावी छ । दायर गरिएको मुद्दामा पोखरा विमानस्थलमा आवश्यक पूर्वाधार र स्ट्याण्डर्ड अपरेटिंग प्रोसिड्युर तथा डेमो उडान समेत  नगरी यती एयरलाइन्सले रन वे १२ मा अवतरण गराउन खोज्दा दुर्घटना भएको जिकिर गरिएको छ । 

मृतकका बाबु आमा हकदवाला मदनकाजी श्रेष्ठ र भीममाया श्रेष्ठले दुष्कृतिजन्य मृत्युको क्षतिपूर्ति मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालत सम्बद्ध स्रोतले जानकारी दिएको हो । नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षा मापदण्ड विपरीत अवतरण गर्न दिएबाट दुर्घटना भई दुष्कृतिजन्य मृत्युको घटना हुन पुगेको उनीहरुको दावी रहेको छ । 

पोखरा महानगरपालिका वडा नं ४ रामकृष्ण टोलका मृतक तीन जनाको मृत्यु भएकोमा सो वापत ८० करोड भन्दा बढीको क्षतिपूर्ति माग गर्दै दायर मुद्दामा भनिएको छ, ''क्षतिपूर्ति दावी रकम नेपाली मुद्रामा कुल असी करोड पच्चीस लाख चालीस हजार दुई सय एक्काइस रुपैया अठ्चालीस पैसा  एवं प्रस्तुत मुद्दामा लाग्ने अदालती शुल्क एवम् मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याज समेत थप गरी एकमुष्ठ रकम विपक्षी प्रतिवादी वायुयान धनी र सञ्चालक यती एयरलाइन्स लिमिटेड, सोको बीमक र पूनर्वीमक तथा नागरिक उड्डयन प्राधिकरण समेतबाट दिलाई भराई पाऊँ ।”

विस २०७९ माघ  १ गते ७२ जनाको ज्यान जानेगरि भएको उक्त दुर्घटनामा विमान कम्पनीको हेरचक्याइँयुक्त र लापरवाहिपूर्ण तरिकाले विमान चलाएकाले उपभोक्ता संरक्षण ऐन २०७५ र नेपाल सन्धी ऐन २०४७ अनुसार मुद्दा दायर गरिएको अन्तराष्ट्रिय कानुनका विज्ञ अधिवक्ता अमृत खरेलले बताए ।