शीर्षकहरू

नेपाल लिलामीमा पर्ने सांसद सुवालको चिन्ता

नेपाल लिलामीमा पर्ने सांसद सुवालको चिन्ता

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक ऋण नतिरेका कारण कतै विदेशीले नेपालको भूमि लिलामी पो गर्ने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।  प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले सरकारसँग यसबारे जवाफ समेत मागेका छन् ।

सुवालले नेपालको सार्वजनिक ऋण कति पुग्यो ? ऋणको साँवा ब्याज भुक्तानी गर्न सरकारको आम्दानीका स्रोत के-के हुन् ? भन्दै अर्थमन्त्रीलाई प्रश्न सोधेका थिए । साथै कतै सावाँ ब्याज नतिरेका ऋणीको घर जग्गा धितो लिलाम भएजस्तै विदेशीले नेपालको भूमि लिलाम गरेर आफ्नो ऋण त असुल गर्ने होइनन् भन्ने उनको प्रश्न थियो ।

सुवालको सवालको जवाफमा अर्थमन्त्री वर्षमान पुनले हाल नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको जानकारी गराए । धेरै बाह्य ऋण सहुलियतपूर्ण र दीर्घकालीन प्रकृतिको रहेको हुँदा ऋण तिर्न गाह्रो नहुने जवाफ अर्थमन्त्रीले दिएका छन् ।

सरकारले सरकारले उठाउने राजस्व र अन्य आयबाट ऋण भुक्तानी हुने गरेको समेत उनले बताए । बाह्य ऋणको सावाँ र ब्याज विदेशी मुद्रामा तिर्न आवश्यक पर्ने विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले कुनै समस्या नरहेको समेत उनले बताए ।