शीर्षकहरू

म्याग्दीका किसान लागे टिम्मुर खेतीमा

म्याग्दीका किसान लागे टिम्मुर खेतीमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन् । रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा छ ।

घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा बिक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिए ।

म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकीकरण सहित टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुर खेतीमा आकर्षित भएका उनको भनाइ छ ।

जिल्लामा २० समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताए । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुर खेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुर खेती गरिरहेका उनले जानकारी दिए ।

टिम्मुर खेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रु १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताए ।

तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।

म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताए । उनका अनुसार गाउँबाटै प्रतिकिलो एक हजार छ सयदेखि  दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।